प्रतिघन्टा १४५ किलोमिटर तिव्र गतिमा बलिङ गर्ने दक्षिण अफ्रिकी मार्चेन्ट चितवन राइनोजका ‘लालगेडी’
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले दक्षिण अफ्रिकाका एक मात्र खेलाडी भित्राउने सफलता हात पारेको छ। त्यस्ता खेलाडी भित्राएको छ जसको बलिङको रफ्तारको विश्व चर्चा हुन्छ।
त्रिवि मैदानमा हुने प्रतिस्पर्धाका लागि पिचमा उत्रिने दक्षिण अफ्रिकी फास्ट बलर मार्चेन्ट डी लाङ चितवन राइनोजका लागि आँखामा राख्दा पनि नबिझाउने ‘लालगेडी’ बन्नेछन् भन्ने आशा गरिएको छ।
मार्चेन्ट डी लाङको जन्म अक्टोबर १३, १९९० मा लिम्पोपो, टजानिनमा भएको थियो।
उनी दायाँ हातले तीव्र गतिमा बलिङ गर्ने खेलाडी हुन् र आफ्नो उचाइको फाइदा उठाउँदै १४५ किमी प्रतिघन्टासम्मको गतिको बल फ्याँक्न सक्छन्।
मार्चेन्टले सन् २०११ मा श्रीलङ्काविरुद्धको टेस्ट खेलमा डेब्यू गरे, जहाँ उनले एकै इनिङ्समा ७ विकेट लिएर आफ्नो उपस्थिति बलियो बनाएका थिए।
उनले दक्षिण अफ्रिकी टोलीका साथै टाइटन्स, दक्षिण अफ्रिका ‘ए’, कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स जस्ता फ्रेन्चाइज टोलीहरूको प्रतिनिधित्व गरिसकेका छन्।
उनको टेस्ट क्रिकेट करियअमा २ खेलबाट ९ विकेटको रेकर्ड छ भने एकदिवसीय क्रिकेट (ओडीआई) मा ४ खेलमा १० विकेट लिएको रेकर्ड छ। टी–२० अन्तर्राष्ट्रियमा पनि उनले आफ्नो बलिङ कौशल प्रदर्शन गरेका छन्।
चितवन राइनोजका मार्की खेलाडीको रूपमा नेपाली क्रिकेट टिमका युवा ब्याटर कुशल मल्ल छन्। मार्चेन्टसहित अन्य विदेशी खेलाडी चितवनले भित्राएको छ।
शरद भेषवाकर, कमलसिंह ऐरी, दीपक बोहरा, रिजन ढकाल, सन्तोष कार्की, गौतम केसी, रञ्जित कुमार, विपीन रावल, अमरसिंह रौटेला, दीपेश खतिवडा घरेलु खेलाडी हुन् भने इङ्ल्यान्डका रवि बोपारा, लुक बेन्किन्सटन, अफगानिस्तानका हसन एसाखिल र नामिबियाका जान निकोल लफ्टी इटोन विदेशी खेलाडी हुन्।
चितवन राइनोज एनपीएल उचाल्नका लागि प्रशिक्षणमा भिडिसकेको छ।