एनपीएलको तामझाम छ अहिले, तीन बर्षअघिको इपीएलमा झनै सम्झन योग्य विदेशी खेलाडी आएका थिए
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) नजिकिएसँगै अहिले देशैभर क्रिकेटकोे माहोल तातेको छ।
क्रिकेट जगतका ठूला हस्तीहरूको आगमनले त अझैँ यसमा सुन्दरता थपेको छ। एनपीएलको यो माहोल हुनु नेपाली क्रिकेटका लागि व्यवसायीक रुपमा फाइदा नै हो।
एनपीएलका टीमहरू पनि आफ्नो ब्रान्डिङ बढाउन व्यस्त छन्। एक हिसाबले भन्ने हो भने देश क्रिकेटमय भएको छ र यसले देशको अर्थतन्त्रलाई केही हदसम्म टेवा पुर्याउने निश्चित छ।
तर एनपीएलको मर्म व्यावसायीक हुनु मात्र होइन। राष्ट्रिय क्रिकेट टीम कस्तो बन्ने भन्ने त्यसको घरेलु लिग र संरचनाले निर्धारण गर्ने गर्छ।
जस्तै, भारतको राष्ट्रिय क्रिकेट टीम इन्डियन प्रिमियर लिग (आइपीएल)ले निर्धारण गर्ने गर्छ। आइपीएलमा राम्रो खेल्ने खेलाडीहरू भारतीय टीममा पर्ने गर्छन्।
घरेलु लिग क्रिकेट विकासका लागि निकै महत्वपूर्ण हुने गर्छ। यसले खेलाडीलाई व्यस्त राख्नुका साथै आम्दानीको श्रोत पनि खुल्ला गरिदिन्छ।
नयाँ खेलाडीलाई राष्ट्रिय टीमसम्मको बाटो देखाउने पनि घरेलु लिग नै हो। घरेलु लिगले नयाँ खेलाडी दिन सकेको खण्डमा राष्ट्रिय टीममा पर्न पनि खेलाडी बीच कडा प्रतिस्पर्धा पर्ने छ।
यसले खेलाडीहरूलाई महिनेतले खेल्न प्रेरित गर्नेछ।
व्यावसायीक कुरालाई अर्को पाटोमा राखेर हेर्ने हो भने घरेलु लिग सफलताका साथ संचालन गर्न लिग प्रतिस्पर्धात्मक हुन निकै जरुरी रहेको छ। लिगलाई प्रतिस्पर्धात्मक बनाउनका लागि विदेशी खेलाडीको भूमिका निकै महत्वपूर्ण हुने गर्छ।
विदेशी खेलाडीहरू लिगका लागि मात्र नभएर घरेलु खेलाडीहरूका लागि पनि निकै महत्वपूर्ण हुने गर्छन्। विदेशी खेलाडीका अनुभव, शिप र कलाको घरेलु खेलाडीहरूले निकै फाइदा उठाउन सक्छन्।
विदेशी खेलाडीहरूले अन्तर्राष्ट्रियस्तरमा खेल्ने खेल र प्रेसरलाई समाधान गर्ने उपाय नेपाल जस्तो उदाउँदै गरेको ‘क्रिकेटिङ’ राष्ट्रका लागि निकै महत्वपूर्ण हुने गर्छ।
एक हिसाबले भन्ने हो भने यसले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ नै दिन्छ। साथै, यसले घरेलु खेलाडीहरूलाई व्यावसायीक हुन पनि सिकाउँछ।
एनपीएलमा शिखर धवन, मार्टिन गप्टिल, जेम्मी निसम, रबि बोपारा र बेन कटिङ जस्ता विश्व चर्चित खेलाडीहरू आइसकेका छन्।
इङ्ल्यान्डबाट ७, अमेरिकाका ४, न्युजिल्याण्ड, स्कटल्याण्ड, पाकिस्तानबाट ३–३ जना, वेस्ट इन्डिज, नामिबिया, नेदरल्यान्डस् र अफगानिस्तानका २–२ जना, भारत, हङकङ, युएई, अस्ट्रेलिया, ओमान, क्यानडा, दक्षिण अफ्रिकाबाट १–१ जना ८ टोलीबाट खेल्दैछन्।
ठूला ठूला क्रिकेटिङ राष्ट्रबाट ठूला ठूला खेलाडी आउँदा एनपीएल कत्तिको प्रभावकारी हुने आगामी दिनले त देखाउँने नै छ। तर २०२१ को एभरेष्ट प्रिमियर लिग (इपीएल) संस्करणसँग तुलना गर्ने हो भने यो एनपीएलमा खासै प्रभावकारी खेलाडीहरू आएको देखिदैँन।
बंगलादेशका तमिम इक्वाल, जिम्बाबेका सिकन्दर राजा, रायन बर्ल, श्रीलंकाका उपुल थरंगा, धम्मिका प्रसाद, अफगानिस्तानका मोहम्मद शहजाद, रहमानुल्लाह गुरबाज, करिम जनत, अजमातुल्लाह उमरजाई पाकिस्तानका साहिद अफ्रिदी दक्षिण अफ्रिकाका रिचर्ड लेभी जस्ता खेलाडीहरूले २०२१ को इपिएल खेलेका थिए।
अहिले एनपीएलमा भित्रिएका खेलाडीहरू र २०२१ का इपिएलका विदेशी खेलाडी तुलना गर्ने हो भने इपिएलमा विदेशी खेलाडी राम्रो देखिन्छ। तर यो भनिरहँदा शिखर धवन भने अहिलेसम्म कै नेपाली क्रिकेट इतिहासको नेपाल भित्रिने सबैभन्दा महान् खेलाडी हुन्।
जिम्बाबेका सिकन्दर राजा र राएन बर्लले जिम्बाबे क्रिकेट विकासका लागि ठूलो भूमिका खेलेका छन्। सिकन्दर राजाले त २०२३ को इन्डियन प्रिमियर लिग (आईपीएल) पनि पन्जाब किंग्सबाट खेलेका छन्।
यी दुबै एसोशिएट राष्ट्रका खेलाडीहरूका लागि प्रेरणाका श्रोत हुन्। जिम्बाबे क्रिकेटलाई विश्वकप खेलाउनेदेखि माथि पुर्याउन यी दुबैको ठूलो हात छ। त्यसैले २०२१ को इपीएलमा यी दुबै खेलाडीको आगमन निकै प्रभावकारी थियो।
३ पटक श्रीलंकाबाट लगातार विश्वकप खेलेका उपुल थरंगाले २०२१ को इपीएल संस्करण भैरहवाबाट खेलेका थिए। उनी त्यसबेला नेपाल आउँदा नेपाली क्रिकेट समर्थक समेत अचम्मित बनेका थिए।
उनले श्रीलंकालाई २०११ को ओडीआई क्रिकेट विश्वकप खेलाउन ठूलो योगदान दिएका थिए।
२०१५ को विश्वकपमा ४ खेलमा ७ विकेट लिएका पेसर बलर धम्मिका प्रसाद पनि त्यसबेला नेपालका लागि ठूलो नाम थियो।
२०१८ मा टेस्ट मान्यता पाएका अफगानिस्तानका खेलाडीहरू २०२१ मा नेपाल आउनु नेपाली क्रिकेट र खेलाडीहरूको लागि निकै ठूलो कुरा थियो।
किनकी, अफगानिस्तानका खेलाडीहरूको अनुभव नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण हुने गर्छ। अहिले पनि नेपाली क्रिकेट अफगानिस्तानको क्रिकेट प्रगतिबाट निकै प्रेरित हुने गरेको छ।
नेपाली क्रिकेटले आफ्नो रोडम्यापमा अफगानिस्तानलाई नै राख्ने गरेको छ। २०२१ को इपीएलमा खेल्न अफगानिस्तानबाट विश्व क्रिकेटमा नाम बनाउन सफल मोहम्मद शहजाद, रहमानुल्लाह गुरबाज, करिम जनत, अजमातुल्लाह उमरजाई नेपाल आएका थिए।
३ ओडिआई र ५ टि–२० विश्वकप खेलेका मोहम्मद शहजादले अफगानिस्तानलाई यहाँसम्म ल्याउन ठूलो भूमिका खेलका छन्।
उनी २०२१ को ओडिआई विश्वकप खेले लगत्तै इपीएल खेल्न नेपाल आएका थिए।
रहमानुल्लाह गुरबाज र अजमातुल्लाह उमरजाईले २०२३ को विश्वकप खेलेका थिए। य दुबै अहिले पनि अफगानिस्तान क्रिकेटलाई आफ्नो योगदान दिइरहेका छन्।
यसका साथै, त्यसबेला इपीएल खेल्न आउने सबैभन्दा ठूलो नाम साहिद अफ्रिदिको थियो।
उनी काठमाडौँबाट इपीएल खेल्न नेपाल आएका थिए। पाकिस्तान क्रिकेटका लिजेन्ड अफ्रिदि नेपाल आउनु नेपाली क्रिकेट र खेलाडीहरूका लागि ठूलो विषय रहेको थियो। उनको आगमन र उनको खेल हेर्न त्रिभुवन विश्वविद्यालयको मैदान पुरै भरिएको थियो।
न्यूजिल्यान्डविरुद्ध ५२ बलमा ११७ रन बनाउने दक्षिण अफ्रिकाका रिचर्ड लेभीलाई पोखराले अनुबन्ध गर्दा धेरै क्रिकेट समर्थकहरू उत्साहित थिए। उनी पनि त्यसबेला नेपाल आउने ठूला खेलाडीहरू मध्येका एक थिए।
अहिले पनि विभिन्न देशहरूबाट खेलाडीहरू नआएका भने होइनन्। तर २०२१ को इपीएलमा जस्तो प्रभावशाली खेलाडी अहिलेको एनपीएलमा भने देखिदैनन्।