Nic Ad Nic Ad
Nic Ad Nic Ad

सीपमूलक तालिम लिएका प्रशिक्षार्थीलाई काठमाडौं महानगरको ‘अन द जब ट्रेनिङ्’, कति जना खाँदैछन् जागिर?

बुधबार, मंसिर ५, २०८१

काठमाडौं– काठमाडौं महानगरपालिकाले सीप मेलाबाट तालिम लिएका ३० जना प्रशिक्षार्थीहरुलाई मासिक न्यूनतम १८ हजार रुपैयाँ पारिश्रमिकसहित विद्युतीय र अन्य सवारी साधन मर्मतको ‘अन द जब’ का लागि पठाउने भएको छ। यसका लागि महानगरपालिका र चाँगुनारायण फाउन्डेशनबीच सम्झौता भएको छ। 

महानगरपालिकाका तर्फबाट सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र फाउन्डेशनका तर्फबाट अध्यक्ष मनिराज खत्रीले हस्ताक्षर गरेका छन्। 

सम्झौता मंगलबार उपप्रमुख सुनिता डंगोल र सामाजिक विकास समितिका संयोजक रामकुमार केसीको उपस्थितिमा भएको थियो। 

सम्झौतापछिको प्रतिक्रियामा उपप्रमुख सुनिता डंगोलले भनिन्,‘साझेदार सबैको भूमिका जोडेर साझा लक्ष्य पूरा गर्न सकिन्छ। हामी बहुसाझेदार कार्यक्रममा पनि खुला छौँ। यसबाट दिगो नतिजा निकाल्न सकिनेमा विश्वास राखेका छौँ।’

गएको वर्ष महानगरपालिकाले सीप मेलाबाट प्रदान गरेको अटो इलेक्ट्रिकमा ४० जना इलेक्ट्रिकल भेहिकल (इभी) मा ६० जना गरी १ सय जनाले १ महिने तालिम लिएका थिए। 

उनीहरुमध्ये सबैलाई सम्पर्क गर्दा ५० जनाले रोजगारीमा जान इच्छा देखाए। 

सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार इच्छुक ५० जनामध्ये ३० जना छनोट गरेर ‘अन द जब ट्रेनिङ्’ मा पठाइनेछ। 

यसरी पारिश्रमिकसहितको तालिम र रोजगारीका लागि निजी तथा उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरुले प्रतिवद्धता जनाए। 

फाउन्डेशनसँग २०८३ असार मसान्तसम्मका लागि सम्झौता भएको हो। 

यसबमोजिम प्रशिक्षार्थीलाई आधारभूत तालिम दिएर महानगरपालिकाले ‘अन द जव ट्रेनिङ्’ का लागि सिफारिस गर्नेछ। 

यसपछि कार्यस्थलमा सीप सिक्ने प्रबन्धको संयोजन फाउन्डेशनले गर्नेछ। यसरी कार्यस्थलमा सीप सिक्ने प्रशिक्षार्थीले मासिक कम्तीमा १८ हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन्। जसमा कार्यस्थल रहेको उद्योगबाट ९ हजार रुपैयाँ र फाउन्डेसनले ९ हजार रुपैयाँ प्रदान गर्नेछन्।   

‘अन द जब ट्रेनिङ्’ का विषयमा साझेदारसँग परामर्श वैठक पनि भएको छ। 

सीपमूलक तालिमबाट पेशा र व्यापार सिकाउन ‘अन द जब ट्रेनिङ्’ कार्यक्रम सञ्चालनमा निजी, उद्योग वाणिज्य तथा साझेदार संघ संस्थाको सहकार्यका विषयमा परामर्श वैठक सम्पन्न भएको छ। 

यस कार्यक्रममा सीपमूलक तालिमको २० प्रतिशत भार कक्षा कोठामा सैद्धान्तिक र ८० प्रतिशत भार विषयसँग सम्बन्धित उद्योग र पेशाको कार्यस्थलमा गएर व्यवहारिक सीप सिक्नुपर्छ। 

कार्यस्थलमा सीप सिक्दा पारिश्रमिक पनि उपलब्ध गराइन्छ। गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत अप्रेन्टिसीप कार्यक्रम सञ्चालन हुनेछ। 

वैठकमा उद्योग, वाणिज्य तथा निजी क्षेत्र र साझेदार संघसंस्थाका प्रतिनिधिहरुबाट प्राप्त गुनासा र सुझावहरुको सम्बोधन गर्दै उपप्रमुख सुनिता डंगोलले भनिन्,‘सबैको प्रयत्न र सहभागिताबाट मात्र कार्यक्रममा नतिजा प्राप्त गर्न सकिन्छ। यसका लागि हामी सम्बद्ध क्षेत्रका कुरा सुन्न खुला छौँ। यसरी आउने प्रतिक्रियाको निचोडबाट तर्जुमा गरिने कार्यक्रम दिगो र लाभदायी हुन्छ । यसमा सहकार्य गर्न पनि हामी खुला छौँ।’

विद्यालयको औपचारिक शिक्षामा सीपमूलक तालिमलाई स्थापित गर्दै लगेको बताउँदै उनले, सीपमूलक तालिमबाट वेरोजगारी घटाउने र आर्थिक क्रियाकलाप बढाउने लक्ष्य हासिल गर्ने कार्यक्रमलाई विभिन्न कोणबाट कार्यान्वयनमा ल्याएको जानकारी दिइन्। 

‘विगतका भोगाइ र सिकाइ तथा वर्तमानको माग र आवश्यकताका आधारमा हामी कार्यक्रम कार्यान्वयन गर्दै जानेछौँ’ सामाजिक समितिका संयोजक रामकुमार के. सी. ले भने,‘सीपमूलक तालिम कार्यक्रम सम्पन्न गर्न मात्र होइन । यहाँबाट उत्पादन भएका जनशक्ति उद्योगको आवश्यकता पूरा गर्न सक्ने बन्न सकुन् भन्नेमा सचेत छौँ।’

बैठकमा उद्योग वाणिज्य तथा निजी क्षेत्रका प्रतिनिधिहरुले आफूहरुलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नमा शैक्षिक प्रतिष्ठानहरुबाट ध्यान नपुगेको गुनासो गरेका थिए। 

‘तालिम नलिएका व्यक्तिलाई काममा राखेर सीप प्रदान गर्छौँ । सीप प्राप्त गरिसकेपछि ऊ वैदेशिक रोजगारीको सपना बनाउँछ’ समस्या सुनाउँदै उनीहरुले भने,‘सीपमूलक तालिम पाएका व्यक्तिलाई रोजगारी दिन, तालिमसँगै रोजगारी दिन आफूहरु प्रतिवद्ध रहेको बताउनुभयो।’

छलफलमा दक्षता प्रमाणीकरण, दक्ष जनशक्तिमा आउने वैदेशिक रोजगारीप्रतिको मोहलाई आन्तरिक उत्पादनमा रुपान्तरण गर्ने योजना, शैक्षिक प्रतिष्ठानले उद्योग र पेशाको आवश्यकतासँग सम्बन्धित जनशक्ति उत्पादन गर्ने कार्यक्रम, आधारभूत र विशिष्टकृत तालिमको पाठ््यक्रम लगायत विषय समेटिएका थिए। 

उनीहरुबाट औपचारिक शिक्षासँगै तालिम सञ्चालन हुनु पर्ने, तालिम पाएकाहरुलाई अवसर उपलब्ध गराउनु पर्ने, आर्थिक गतिविधिमैत्री वातावरण सिर्जना गर्नु पर्ने, लगानीका लागि सुरक्षित र उचित माध्यम उपलब्ध हुनुपर्ने, तालिम प्राप्त व्यक्तिहरुको श्रम बजारसँग सहज पहुँच हुनुपर्ने, स्थानीय र विश्वव्यापी श्रम बजारका विषयमा तालिमसँगै शिक्षा दिनु पर्ने सुझाव प्राप्त भए । 

महानगरपालिकाले सीपमूलक तालिम, रोजगारी र स्वरोजगारीको अवसरका लागि गरेका प्रयत्नका विषयमा प्रस्तुतिकरण गर्दै, आयोगका सदस्य झाले भने,‘तालिमका लागि पूर्वाधार बनाउने, तालिम प्राप्त व्यक्तिलाई श्रम बजार र स्वरोेजगारका अवसरको पहुँचमा पु¥याउने योजना कार्यान्वयनमा छौँ। तालिमको अपेक्षा गर्ने व्यक्तिहरुको संख्या ठूलो भएकोले संख्यात्मक आँकडाको कुरा पनि छ । हामी गुणात्मक पक्षमा उत्तिकै सजग छौँ ।’ 

महानगरपालिकाले कार्यक्रममार्फत तालिम र रोजगारीसँगै समावेशीकरण र सामाजिक न्यायको पक्षलाई मानकका रुपमा राखेकाले कार्यक्रम कार्यान्वयनसँगै समुदाय स्तरमा नतिजा देखिँदै जाने सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाको धारणा छ । 

महानगरपालिकाले उत्पादन गरेका दक्ष जनशक्तिलाई उचित रोजगारीको सम्भावनाका लागि साझेदारहरुसँग नियमित छलफल भइरहेको कार्यक्रमका फोकल पर्सन शान्ता पहाडीले जानकारी दिइन्।

अप्रमाणित दक्ष, प्रमाणित दक्ष, अप्रमाणित अर्धदक्ष तथा अदक्ष र प्रमाणित अर्धदक्ष तथा अदक्ष जनशक्तिको व्यावसायिक सीप परीक्षण, स्तर र योग्यताका लागि महानगरपालिकाले नियमित काम गरिरहेको छ। 

कार्यक्रमअन्तर्गत महानगरपालिकाले गएको वर्ष विश्व श्रमिक दिवस २०८१ (वैशाख १९) को अवसर पारेर टुँडिखेलमा ‘सीप मेला २०८१’ आयोजना गरेको थियो। 

‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब टे«निङ्’ उपलब्ध गराउने लक्ष्य राखिएको मेलामा तालिम लिनका लागि ६८ हजार ८६६ जनाको आवेदन दिएका थिए। १० वटा विधाका ३० वटा पेशासँग सम्बन्धित तालिम कक्षा सञ्चालन भएका थिए। १५ दिन र ३० दिन अवधिका तालिमबाट २ हजार ७१५ जना प्रशिक्षार्थीले तालिम लिएका छन्। 

तालिम सञ्चालनकै अवधिका निजी, उद्योग तथा वाणिज्य, शैक्षिक र सामाजिक क्षेत्र तथा दातृ निकायका प्रतिनिधिहरुसँग सीप मेलाबाट उत्पादन भएका सीपयुक्त जनशक्तिलाई रोजगारी उपलब्ध गराउने संयन्त्र निर्माणका लागि ‘नीति संवाद’, ‘अन्तरक्रिया’ र ‘रोजगार मेला’ आयोजना गरिएको थियो।

२ दिन चलेको रोजगार मेलामा ७० भन्दा धेरै कम्पनी तथा संघसंस्थाका प्रतिनिधि आएर सीपयुक्त जनशक्तिसँग भेटेर कुरा गरेका थिए। 
 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्