नेपालमा जे बोल्दा ताली आउँछ, त्यही गर्न थाले : सञ्चारमन्त्री गुरुङ
काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकरिझ्याइँंको राजनीति गलत भएको बताएका छन् । बुधबार काठमाडौँमा विशिष्ट चलचित्रकर्मी परिचय पत्र वितरण कार्यक्रममा उनले नेपाली समाज नै ढोंगी बनिरहेको टिप्पणी गरे ।
‘हाम्रो समाज नै ढोंगी भयो । मैले के बोलिदिँदा तत्काल ताली आउँछ, त्यही मात्रै भनिदिने । भोलिको दिन के काम गर्नुपर्छ भन्ने कुरा बिर्सिने’, उनले भने, ‘हामी जस्ता नेताको काम त्यही भइरहेको छ । त्यसकारण यो ढोंगी चिजहरू नगरौँ भन्ने मान्यता मेरो हो ।’कलाकारको बीचमा पुग्दा म पनि कलाकार थिएँ भन्ने र मजदुरको कार्यक्रममा जाँदा म पनि मजदुर नेता थिएँ भन्ने जस्ता लोकरिझ्याइँका अभिव्यक्ति दिन नहुने मन्त्री गुरुङले बताए ।
‘लोकरिझ्याइँको पोलिटिक्स गलत कुरा हो । जे सही हो सही भन्नुपर्छ, जे गलत हो गलत भन्नुपर्छ । हामी जस्तो मन्त्रीहरू सबै बुझेको छु भन्छन् । हाम्रो नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नै चाहिँदैन’, उनले भने । पार्टी र नेताले मन पराइदिएपछि जुनसुकै सांसद मन्त्री हुन सक्ने भन्दै उनले मन्त्री बन्न कुनै अनुभव र योग्यता नचाहिनु गलत भएको बताए ।
‘खेलकुदको ख नबुझ्नेहरू जहिले पनि खेलकुद मन्त्री बनिरहेको देख्छु म, वन नै नबुझेको मान्छेहरू वन मन्त्री भइरहेको हुन्छ । त्यस्तै त्यस्तै म पनि त्यही भित्र पर्छु जस्तो लाग्छ मलाई । म यो सञ्चारको धेरै कुरा नै बुझेको छैन’, मन्त्री गुरुङले भने । तर आफूले जनतालाई नढाँट्ने, जति सकिन्छ त्यति मात्रै गर्ने उद्देश्य राखेको उनले बताए ।