Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्थानीय तह उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान 

बिहीबार, मंसिर ६, २०८१

काठमाडौं - आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका ४१० मध्ये ३१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्विरोध निर्वाचित भएकाबाहेक अन्य ३७६ जना उम्मेदवारलाई आज सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ । 

जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट २८९ र १२१ स्वतन्त्र उम्मेदवार गरी कुल ४१० जनाको मनोनयनपत्र दर्ता भएको थियो । 

तीन पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । आयोगका अनुसार ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका छन् । 

यस्तै, रुकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगंगा गाउँपालिका– २ को वडाध्यक्षमा माओवादीका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका २५ वटा राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी), कांग्रेस (बिपी), नेपाली जनता दल र आम जनता पार्टीले कुनै पनि रिक्त पदका लागि उम्मेदवारी दर्ता नगराएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । 

निर्वाचन कार्यक्रमअनुसार यही ६ देखि १३ मंसिर राति १२ बजेसम्म उम्मेदवारले प्रचारप्रसार गर्न सक्नेछन् । १३ मंसिर राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध अवधि तोकिएको छ । १६ मंसिर आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  ०७:५४
प्रतिक्रिया दिनुहोस्