Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै : गृहमन्त्री लेखक

बिहीबार, मंसिर ६, २०८१

धनगढी- गृहमन्त्री रमेश लेखकले मन्त्री परिबर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । आज (बिहीबार) धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताएका हुन् ।

गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए । ‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ । तर, अहिलेसम्म त्यस्तो छलफल भएको छैन,’ उनले भने । उनले २०८४ सम्म यो गठबन्धन कायम रहने बताउँदै अबको एक बर्ष आठ महिनापछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधननमन्त्री बन्ने उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमणको विषयलाई लिएर दुई दलबीच खटपट भएको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलको विषयलाई लिएर बेकामको हल्ला चलाइएको बताएका हुन् । ‘एमाले र कांग्रेसबीच कुनै पनि विषयमा कुनैप नि असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भएपनि मिलेर सरकार चलाइरहेका छौं । २०८४ को निर्वाचन सम्म सहज मिलेर जान्छौँ,’ उनले भने ।

नयाँ प्रधानमन्त्री नियुक्त लगत्तै विदेश भ्रमणमा जाने परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देश अगाडि जानुभयो भन्ने विषय सामान्य रहेको उल्लेख गरे । ‘प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भइसकेको छ । चीन भ्रमणलगत्तै भारत भ्रमण गर्नुहुन्छ’ उनले भने ।

सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी आएका गृहमन्त्री लेखकले गोष्ठीमा प्रदेश सुरक्षाको समीक्षा गरिएको बताए । उनले अब नयाँ कार्ययोजना सहित शान्ति सुरक्षा कायम हुने बताए । निर्मला पन्त हत्या काण्डको पनि अनुसन्धान जारी रहेको बताउँदै गृहमन्त्री लेखकले हत्या भएको लामो समय भएपनि अनुसन्धान जारी रहेको उल्लेख गरे । ३ दिन सुदूरपश्चिममा रहेका गृहमन्त्री लेखक आजै काठमाडौँ फर्किएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्