तनहुँमा बीस रोपनी जमिनमा रायो सागखेती
तनहुँ- समुद्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा रहेको आँबुखैरेनी-५ छिम्केश्वरी लाब्दीमा २० रोपनी जमिनमा व्यावसायिक रायो सागखेती गरिएको छ ।
किसानले उत्पादन गरेका कृषि उपज बिक्री सहजका लागि गाउँपालिकाले हाटबजारको व्यवस्था मिलाएपछि यहाँका किसान व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । स्थानीय संगिता गुरुङ, टीकामाया गुरुङ, आइतमाया गुरुङ, लक्ष्मण गुरुङ लगायकाले प्रत्येकले दुई/तीन रोपनीका दरले साग खेती गरेका हुन् । गाउँपालिकाले किसानलाई थप हौसला प्रदान गर्न उत्पादनको आधारमा प्रतिकिलो २५ रुपैयाँ अनुदानको व्यवस्था गरेको आँबुखैरेनी कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । उनका अनुसार छिम्केश्वरीका किसानले उत्पादन गरेका कृषि उपज हाटबजारसम्म ल्याउन ढुवानीको समेत व्यवस्था गरिदिएको छ । दिनमा दुई सय पचासदेखि तीन मुठासम्म साग बिक्रीका लागि ल्याउने गरिएको उनले बताए ।
यहाँ उत्पादित सागप्रति मुठा रु. एक सयमा बिक्री हुने गरेको छ । नांगलो जस्ता सागको पात देख्दा उपभोक्ता किन्नका लागि भीड नै लाग्ने गर्छन् । यहाँ उत्पादित साग रसिला र मीठो पनि उत्तिकै हुने भएकाले उपभोक्ताको रोजाइमा साग पर्ने गरेको छ । जलवायु परिवर्तनको असरका कारण कीराको प्रकोप हुँदा सागका पात खाने समस्या भएको छ,उनले भने “जलवायु मैत्री कृषि प्रविधितर्फ गाउँपालिकालाई उन्मुख गराउने योजना बनाइएको छ ।” जैविक विषादी निमजन्य विषादी कृषि शाखाले निःशुल्क रूपमा किसानलाई उपलब्ध गराउँदै आएको गाउँपालिकाले जनाएको छ ।
अघिल्लो वर्ष सागलगायतका तरकारी बिक्री गरेर एक किसानले ५०/६० हजारसम्म आम्दानी गर्न सफल भए पनि यसवर्ष कीराको प्रकोपका कारण आम्दानी घट्ने देखिएको कृषि शाखा प्रमुख केसीले बताए ।
गाउँपालिकाले रु. ४० लाखको लागतमा वार्षिक दुई लाख ५० हजार भाडा बुझाउने गरी जग्गा भाडामा लिएर दुई वर्षदेखि आँबुखैरेनी बजार क्षेत्रमा हाटबजार सञ्चालनमा ल्याएको हो । गाउँपालिकामा उत्पादित बाँसजन्य सामग्रीका साथै मह,घिउ, दही, पनिर, बेसार, अदुवा, अकबरे खुर्सानी, मकै, भटमास, स्कुस, बरेला, बोडी, च्याउ र बेमौसमी केराउ लगायतका कृषि उपज बिक्री वितरणमा सहज भएको छ ।
व्यावसायिक रूपमा यहाँका स्थानीयले तरकारी लगायतका कृषि उपज उत्पादन गर्न थालेपछि महिला आयआर्जनमासमेत सबल बन्दै गएको वडाध्यक्ष सन्तोष गुरुङले बताए । यहाँ उत्पादित कृषि उपज तल बेँसीमा रहेको हाटबजारसम्म लगेर बिक्री वितरण गर्ने व्यवस्था मिलाइएपछि किसान उत्साहित भएर उत्पादनमा लागेका उनले जानकारी दिए ।