Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेत्रहीन टी- २० विश्वकप : जहाजमा जाने पैसा नहुँदा नेपाली टोली रेलबाटै पाकिस्तान प्रस्थान

बिहीबार, मंसिर ६, २०८१

काठमाडौँ- नेत्रहीन टी–२० विश्वकप क्रिकेट खेल्न नेपाली टोली पाकिस्तान प्रस्थान गरेको छ । हिजो रुपन्देहीको भैरहवामा रुपन्देही क्रिकेट सङ्घले बिदाई गरेपछि नेपाली टोली बेलहिया नाका हुँदै भारत प्रस्थान गरेको हो ।

हवाइजहाजको टिकट किन्न रकमको अभावले नेपाली टोली गाडी र रेल हुँदै पाकिस्तान पुग्नेछ । यसअघि पनि नेपाली टोली गाडी र रेल हुँदै पाकिस्तान पुगेको थियो, चौतर्फी आलोचनापछि नेपाल क्रिकेट सङ्घसहितका निकायको सहयोगमा टोली जहाजमा नेपाल फर्किन पाएको थियो । ‘उहाँहरुले खासै गुनासो त गर्नुभएन तर, पैसाकै अभावमा टोली गाडी र रेलबाट पाकिस्तान जान थालेको पायौँ, यो विषयमा सरकार गम्भीर हुनुपर्ने जस्तो लाग्छ ।’ रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाले भने ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले राम्रो प्रगति गरेको र सेवा सुविधा पनि बढ्दै गएको अवस्थामा नेत्रहीन टोली विश्वकप खेल्नको लागि गाडी र रेलबाट अरु देशमा जानुपर्ने अवस्था सुहाउँदो नभएको थापाको भनाइ छ । 

नेपाली टोलीमा खेलाडी, अफिसियल, कोच, व्यवस्थापक र मेडिकल टिमसहित २१ जना टोलीमा छन् । चौथो संस्करणको नेत्रहीन टी–२० विश्वकप पर्सि नोभेम्बर २३ तारिखदेखि डिसेम्बर ३ सम्म पाकिस्तानको लाहोर र मुल्तानमा हुँदैछ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार