एनपीएल खेल्ने बिराटनगर किङ्सका तीन एम्बेस्डर, तीन वटा फ्रेन्चाइजका एउटा पनि छैनन्
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने फ्रेन्चाइज टोली बिराटनगर किङ्सले तीन जना एम्बेस्डर सार्वजनिक गरेको छ। तर, एनपीएलका तीन टोलीले भने एक जना पनि ब्रान्ड एम्बेस्डर सार्वजनिक गरेका छैनन्।
एनपीएलमा सहभागी चितवन राइनोज, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयलले ब्रान्ड एम्बेस्डर सार्वजनिक नगरेका हुन्। यता लुम्बिनी लायन्सले महानायक पगरी पाएका राजेश हमाललाई ब्रान्ड एम्बेस्डर बनाएर खेलाडीहरूसँग सामिप्यतामा राखिसकेको छ।
कर्णाली याक्सको प्रचारमा भने एम्बेस्डरको भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का खटिएकी छन्। काठमान्डु गुर्खाजले महिला क्रिकेट टीमकी कप्तान इन्दु बर्मालाई एम्बेस्डरका रुपमा सक्रिय बनाएको छ भने जनकपुर बोल्टसका लागि यू–१९ महिला टोलीकी कप्तान पूजा महतो ब्रान्ड एम्बेस्डर हुन्।
बिराटनगर किङ्सले अभिनेता दयाहाङ राईलाई गुडविल एम्बेस्डर बनाएको छ।
राई नेपाली चलचित्र उद्योगका एक लोकप्रिय अभिनेता, निर्देशक, र रंगमञ्च कलाकार हुन्। उनी आफ्नो स्वाभाविक अभिनय, बहुप्रतिभा, र विभिन्न पात्रको उत्कृष्ट निर्वाहका कारण दर्शकबीच अत्यन्त प्रिय छन्। दयाहाङ राई नेपाली फिल्म उद्योगको एक प्रमुख व्यक्तित्व हुन्, जसले नयाँ पुस्तालाई प्रेरणा दिइरहेका छन्।
बिराटनगर किङ्सको जर्सी उद्घाटमा समेत सहभागी भएकी गायिका रचना रिमाललाई फेस अफ टीम भनिएको छ।
रिमाल एक चर्चित नेपाली गायिका हुन्, जो आफ्ना मीठा स्वर र बहुप्रतिभाका कारण नेपाली संगीत क्षेत्रमा लोकप्रिय छिन्। उनी आधुनिक, पप, तथा लोकशैलीका गीतहरूमा आफूलाई स्थापित गर्दै नेपाली संगीत उद्योगमा सशक्त उपस्थिति जनाउँदै आएकी छिन्।
गायक कुशल पोखरेल भने बिराटनगर किङ्सका ब्रान्ड एम्बेस्डर हुन्। उनैले उक्त फ्रेन्चाइजको अफिसियल गीत तयार पारेर गाएका छन्।
पोखरेल नेपाली संगीत उद्योगका एक चर्चित गायक, गीतकार र संगीतकार हुन्। उनी विशेष गरी आफ्नो भावना प्रधान गीत, जीवनका यथार्थपरक शब्द, र सरल तर सशक्त संगीतको लागि परिचित छन्।
कुशल पोखरेल नेपाली आधुनिक र पप संगीतमा एक लोकप्रिय नाम हो, जसका गीतले नेपाली युवा पुस्ता मात्र होइन, सबै उमेर समूहका दर्शकहरूलाई आकर्षित गरेको छ।
एनपीएलको रौनकले अहिले देश नै हल्लिएको छ। त्रिवि मैदानमा मंसिर १५ गतेदेखि उद्घाटन खेलमा बिराटनगर किङ्सले जनकपुर बोल्टस्सँग भिड्दैछ।