डिन र क्याम्पस प्रमुखको नियुक्ति मंसिरमै गर्ने उपकुलपति बरालको दाबी
काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले डिन र क्याम्पस प्रमुखहरू मंसिरभित्रै नियुक्ति गर्ने बताएका छन् ।
‘मेरिटको आधारमा नियुक्ति गर्ने हो । यसका लागि छनोट तथा सिफारिस समिति बनाएर काम गरेका छौँ । समितिले नाम सिफारिस गरेको छ । मंसिरमै नियुक्ति गरिसक्छौं,’उपकुलपति बरालले भने ।सिफारिस समितिले असोजमै नाम सिफारिस गरे पनि कार्यकारी परिषद्ले निर्णय नगर्दा डिन र क्याम्पस प्रमुखकको नियुक्तिमा ढिलाइ भएको हो ।
त्रिविमा ८ डिन, १८ क्याम्पस र ७ सहपरीक्षा नियन्त्रक नियुक्त गर्नुपर्ने छ । प्रत्येक समितिले तीन/तीन जनाको नाम सिफारिस गरेको छ । तीन जनामध्येबाट योग्यलाई नियुक्त गर्ने बरालले बताए ।
‘म एक्लैले छान्ने होइन । कार्यकारी परिषद्ले निर्णय गर्ने हो,’ उनले भने, ‘परिषद्ले तीन जनामध्येबाट योग्यलाई छान्ने हो ।’
दलहरूले आफू निकटकालाई नियुक्त गर्न दबाब दिएपछि ढिलाइ भएको चर्चा छ । तर, उपकुलपति बराल आफूलाई कसैले दबाब नदिएको बताउँछन् ।
१५ मंसिरभित्र परिषद्को बैठक बसेर निर्णय गर्ने तयारी त्रिविको छ । तर, पार्टी निकटका प्राध्यापक संघ संगठन र विद्यार्थी नेताहरूले आफू निकटका व्यक्तिलाई बनाउन लबिइङ गरिरहेका त्रिविका अधिकारीहरू बताउँछन् ।