Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘बीआरआई’का कारण सत्ता साझेदार कांग्रेस–एमालेमा टसल, ओलीको चीन भ्रमणमा सम्झौता भए के हुन्छ?

शुक्रबार, मंसिर ७, २०८१

काठमाडौं– चीनको बेल्ट एन्ड रोड इनिसिएटीभ (बीआरआई)को ऋण लिने कि नलिने भन्ने विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबीच टसल सुरु भएको छ। 

यही कारण प्रधानमन्त्री केपी शर्मा ओलीको तय भएको चीन भ्रमणमा बीआरआईबारे सम्झौता होला कि नहोला र भयो भने सत्ता गठबन्धन के होला भन्ने अन्यौल छाएको छ। 

कांग्रेस कुनै पनि हालतमा ऋण लिन तयार छैन भने उसले अनुदान र निशर्त सहयोग भए मात्र स्वीकार गर्न सकिने जवाफ दिएको छ। यहि विषयमा कांग्रेसका शीर्ष तहका नेतामा पनि बारम्बार छलफल चलिरहेको छ। 

कांग्रेस–एमालेबीच टसल रहेको उदाहारण नेता प्रकाशशरण महत र शंकर पोखरेलको धारणाले प्रष्ट पार्दछ। 

कांग्रेस प्रवक्ता महत भन्छन्,‘ बीआरआईबारे कांग्रेसको दोधारे नीति छैन, हामीले ऋण लिन हुँदैन भनेका हौं। हामीले अहिले अनुदान सहयोगमा जोड दिएका छौं।’ 

महत अगाडि जोड्छन्,‘चिनियाँ सरकारले अनुदानको प्रतिबद्धता गरेको धेरै बर्ष भइसक्यो, कार्यान्वयन भएको छैन। अनुदान नै कार्यान्वयन भएको छैन, अनि ऋणको कुरा गरेर के अर्थ, हाम्रो ऋणको भार पनि धेरै भएको छ, चिनियाँ सरकारसँग मात्रै होइन, कुनै सरकारसँग पनि ऋण लिने बाटोमा जान हुँदैन।’

यता, नेकपा एमालेका महासचिव शंकर पोखरेलले छिमेकी राष्ट्रबाट ऋण लिन सकिने बताए।

चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता कार्यान्वयन गर्ने सन्दर्भमा सत्तारुढ दलहरूभित्र छलफल चलिरहेका बेला एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले लेखेका छन्, ‘नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरूबाट सहुलितपूर्ण ऋण सहायता लिनु के गलत हो?’ प्रधानमन्त्री केपी शर्मा ओलीले १७ देखि २० मंसिरसम्म चीनको औपचारिक भ्रमण गर्दैछन्। 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्