क्षेप्यास्त्र प्रहार गरेपछि युक्रेनका सहयोगी देशका सैनिक संरचनामा आक्रामण गर्ने पुटिनको चेतावनीको अर्थ
काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाले युक्रेनमा प्रहार गरेको अस्त्र अन्तरमहादेशीय बलिस्टिक मिसाइल (आईसीबीएम) नभएको दाबी गरेका छन्।
उनका अनुसार रुसले युक्रेनको डिनिप्रो क्षेत्रमा बिहीवार बिहान “नयाँ परम्परागत मध्यम दूरीको क्षेप्यास्त्र” प्रहार गरेको हो।
पुटिनका अनुसार युक्रेनले अमेरिका र यूकेले उपलब्ध गराएका हतियार प्रयोग गरेर आफ्नो भूमिमा आक्रमण गरेको जबाफ दिन रुसले ‘ओरेश्निक’ नामक क्षेप्यास्त्र प्रहार गरेको हो।
उनले युक्रेनलाई रुसी भूभागमा आक्रमण गर्न हतियार उपलब्ध गराउने देशहरूका सैन्य संरचनामा पनि रुसले आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्।
यो चेतावनी अर्थपूर्ण रहेको छ। पुटिनले युक्रेनसँगै अमेरिका र यूकेका सैनिक संरचनामा पनि आक्रमण गर्न सक्लान् भन्ने अड्कलबाजीका चर्चा चल्न सुरु भएका छन्।
बीबीसीका अनुसार अमेरिका र यूकेले आफ्नो पुरानो नीतिमा परिवर्तन गर्दै यसै साता युक्रेनलाई अमेरिकी ‘आर्मी ट्याक्टिकल मिसाइल सिस्टम’ (एटीएसीएमएस) र यूकेको ‘स्टोर्म श्याडो’ क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति दिएका थिए।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले नयाँ क्षेस्यास्त्र प्रहार गर्नु “अझ युद्ध चर्काउने” कदम भएको बताएका छन्। “रुसलाई शान्तिमा कुनै रुचि छैन भन्ने यो अर्को प्रमाण हो,” उनले सामाजिक सञ्जाल ‘क्स’मा भनेका छन्।
पुटिनले युद्ध लम्ब्याइरहेको मात्रै हैनन्, उनले वास्तवमै शान्ति चाहने विश्वका मानिसहरूका मुखमा थुकिरहेको भनी टिप्पणी सुरु भएका छन्।
यसअघि जेलेन्स्कीले रुसी क्षेप्यास्त्रमा आईसीबीएमको विशेषता रहेको बताएका थिए। तर यसमा पश्चिमा अधिकारीहरूले संशय व्यक्त गरेका थिए।
अमेरिकी न्याश्नल सेक्युरिटी काउन्सिलले पनि “युक्रेनविरुद्ध परीक्षणकालीन मध्यम दूरीको क्षेप्यास्त्र” प्रहार भएको जनाएको छ। अमेरिकी निकायले रुससँग यस्ता हतियार “औँलामा गन्न सकिने सङ्ख्यामा मात्रै’’ रहेको र यसले युद्धमा ठूलो भिन्नता नल्याउने बताएको छ।
पेन्टागनकी प्रेस अधिकारी सब्रिना सिंहले यस्तो क्षेप्यास्त्र प्रहार गर्नुभन्दा केही समयअघि अमेरिकालाई यसबारे सूचित गरिएको बताएकी थिइन्। पुटिनले “परीक्षण” सफल भएको र बलिस्टिक क्षेप्यास्त्रको गैरआणविक हाइपरसोनिक संस्करणले “लक्ष्यभेदन गरेको“ बताए।
“अमेरिकी र ब्रिटिश लामो दूरीका अस्त्रको प्रयोगको प्रतिक्रियामा रुसी सशस्त्र फौजहरूले युक्रेनका सैन्य औद्योगिक भवनहरू भएको क्षेत्रमा संयुक्त हमला गरेका छन्,” पुटिनले भने।
उनका अनुसार उक्त क्षेप्यास्त्रले एक सेकेन्डमा झन्डै तीन किलोमिटर दूरी पार गर्ने उक्त क्षेप्यास्त्रलाई निस्तेज बनाउने कुनै उपाय छैन।
उनले पश्चिमा देशहरूमा पनि रुसले जबाफ दिनेमा “शङ्का नगर्न’’ चेतावनी दिए।
यूकेस्थित एक सैन्य थिङ्क–ट्याङ्कका निर्देशक म्याथ्यू साभिलले प्राप्त जानकारीका आधारमा बिहीवार प्रहार गरिएको अस्त्र यसअघि रुसले प्रयोग गरेको ५०० किलोमिटर दूरीमा प्रहार गर्न सक्ने ‘स्कान्डर्स’ भन्दा लामो दूरीमा मार हान्ने क्षमताको भएको बताए।
पुटिनले भने जस्ता मध्यम दूरीका बलिस्टिक क्षेप्यास्त्रले ३,००० देखि ५,५०० किलोमिटर टाढासम्मको दूरीमा प्रहार गर्न सक्छन्। बीबीसी