कान खोलेर सुने हुन्छ, ०८४ को चुनावसम्म सरकार समीकरण रहन्छः प्रधानमन्त्री ओली
काठमाडौं– एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता समीकरण ०८४ को निर्वाचनसम्म रहने ठोकुवा गरेका छन्।
उनले भनेका छन्,‘कान खोलेर सुने हुन्छ, अब १८ महिना म सरकार चलाउँछु। त्यसको १८ महिनापछि शेरबहादुरजीले चलाउनुहुन्छ।’
एमालेले दरबारमार्गमा शुक्रबार गरेको सभामा सम्बोधनका क्रममा ओलीले भने,‘सरकार बन्दै बन्दैन भने बन्यो, विश्वासको मत पाउँदैन भने, पायो। दशैं तिहार केही देख्दैन भन्यो त्यो पनि कट्यो। अब फ्रेबुअरीको भाका राख्दैछन्।’
ओलीले अगाडि भने,‘फागुनको कुरा होइन, ०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ। कान खोलेर सुने हुन्छ। ०८३ साल असारसम्म प्रधानमन्त्री रहन्छु, त्यसपछि शेरबहादुर देउवाजीले चलाउनुहुन्छ।’
ओलीले अहिलेको समीकरण हल्लाउन सक्ने छैन भन्ने दाबीसाथ भने,‘नेकपा एमाले कागले कान लग्यो भनेर आकाशतिर हेरेर कुद्ने पार्टी होइन। आफूले एकप्रकारको अश्लील, अराजकता मच्चाएपछि समाज त्यस्तै होला भनेर सोचेका होलान् तर नेपाली जनता गौरवपूर्ण परम्पराको साथ अघि बढ्छ।’
विभिन्न पार्टीका नेतालाई इङ्गीत गर्दै भने,‘नेपाली जनता कुहिराको काग बनेर कुद्दैन। राष्ट्रिय आकांक्षा समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हिँड्छ। मंसिर ७ गते एमाले सरकारमा पनि छ, सभा पनि गरिरहेको छ।’