नेकपा एमाले हात्तीको बथान हो, नाङ्लो ठटाएर तर्साउने कोशिश नगर्नूः ओली
काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई तर्साउने कोशिश नगर्नका लागि चेतावनी दिएका छन्।
दरबारमार्गमा शुक्रबार एमालेले गरेको सभालाई सम्बोधन गर्दै भ्रम फैलाइएर अराजकता मच्चाएको पनि बताए।
उनले भने,‘कम्बोडिया भन्ने देश त्यहिँ छ, चार पाँच घन्टामा यहिँबाट फ्लाइटमा पुगिन्छ। बैंककबाट ५५ मिनेटमा पुगिन्छ। त्यहाँको टेलिकममा कस–कसको लगानी छ भन्ने थाहा नपाउने कुरा हो र? जसले पनि थाहा पाउँछ। आफू बदमासी गर्ने, अरुको टाउकोमा खन्याउने?’
सभालाई सम्बोधन गर्दै उनले भने,‘कम्बोडियामा ३२ हजार करोड छ भन्ने हल्ला चलाइयो, भन्नलाई भन्देऊ न अमेरिकाको बैंकको आधा सम्पत्ति मेरै हो।’
दुर्गा प्रसाईंतिर लक्षित गर्दै ओलीले भने,‘केही मानिसहरु छन् उनीहरु आफैं रुमल्लिएका छन्। यस्ता हल्ला गर्नेहरुलाई नियन्त्रण गर्नुपर्ने अवस्था आउनेछ। सरकार त्यस दिशातिर जाने अवस्था छ। नेपालीमा नाङ्लो ठटाएर हात्ती तर्साउने भनिन्छ। एमाले हात्तीको बथान हो, नाङ्लो ठटाएर केही मान्नेवाला छैन।’
यहि क्रममा रास्वपा सभापति रवि लामिछानेतिर इङ्गीत गर्दै ओलीले हिन्दीको उखान स्मरण गर्दै भने,‘उल्टे चोर कोतवालको डाटे! आफैं सहकारी ठग्ने अनि अरुलाई ठग भनी औंला ठड्याउने?’
ओलीले सत्ता समीकरण ०८४ को निर्वाचनसम्म रहने ठोकुवा गरेका छन्।
उनले भनेका छन्,‘कान खोलेर सुने हुन्छ, अब १८ महिना म सरकार चलाउँछु। त्यसको १८ महिनापछि शेरबहादुरजीले चलाउनुहुन्छ।’
सभामा सम्बोधनका क्रममा ओलीले भने,‘सरकार बन्दै बन्दैन भने बन्यो, विश्वासको मत पाउँदैन भने, पायो। दशैं तिहार केही देख्दैन भन्यो त्यो पनि कट्यो। अब फ्रेबुअरीको भाका राख्दैछन्।’