Nic Ad Nic Ad
Nic Ad Nic Ad

ऋणात्मक बीआरआईबाट पछि हटे प्रधानमन्त्री, कांग्रेस–एमाले गठबन्धनको खटपट टरेकै हो त?

शुक्रबार, मंसिर ७, २०८१

काठमाडौं– एमाले सभाका क्रममा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रष्ट भनेका छन्,‘हामी अहिले ऋण लिने अवस्थामा छैनौं।’

चीन भ्रमणको सन्निकट गरिएको जागरण सभाको नामको एमाले शक्ति प्रदर्शनका क्रममा ओलीको यो भनाईले बेल्ट एन्ड रोड इनिसियटीभ (बीआरआई)मा सहभागी हुन नेपालले ऋणात्मक सम्झौता गर्दैन भन्ने संकेत हो। 

चीनसँग बीआरआई सम्झौता भ्रमणका क्रममा गरिने चर्चाबीच सत्ता गठबन्धनको पहिलो घटक नेपाली कांग्रेससँग एमालेले घनिभूत बैठक गरेको थियो।

सोही सम्झौता हुन सक्ने आँकलनमा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार आफैं ढल्ने र आफूलाई प्रधानमन्त्री पद आईलाग्ने जोखाना हेरेका थिए। 

यति मात्र होइन चीन भ्रमणमा ओलीले चाइना कार्ड खेल्ने भनी भारतीय अखबारलाई प्रचण्डले अन्तरवार्ता समेत दिएका थिए। बीआरई सम्झौता भएको खण्डमा कांग्रेस गठबन्धन तोडी माओवादी नेतृत्वमा सरकार बन्ने प्रचण्डको बुझाई थियो। 

तर, ओलीले यति मात्र भनेनन् त्यसअघि प्रष्ट भनेका थिए,‘यो गठबन्धनको सरकार ०८४ सालको निर्वाचनसम्म जान्छ। अब डेढ बर्ष म प्रधानमन्त्री रहन्छु र त्यसको डेढ बर्ष कांग्रेस सभापति शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुहुनेछ। ढुक्क भए हुन्छ।’

कांग्रेसले पनि चीनले बीआरआई सम्झौता गर्दा निशर्त सहयोग वा अनुदान दिए लिन सकिने तर ऋण लिन नहुने अडानसहितको सुझाव प्रधानमन्त्री ओलीलाई दिएको थियो। 

तैपनि ओली बीआरआईमा सहभागी हुने पक्षमा उभिने तयारीमा कांग्रेस मनाउने खेलमा थिए। तर सदनको यो अन्तिम विकल्पको गठबन्धन भत्किने खतरा देखेपछि ओली पछि हटेको मानिन्छ।

यसले कांग्रेस–एमाले खटपट तत्कालका लागि टरेको अनुमान गरिएको छ। एमाले महासचिव शंकर पोखरेल शुक्रबार बिहानसम्म पनि ऋण लिन सकिने सम्भावनाबारेको पोस्ट गरिरहेका थिए। तर, दिउँसो प्रधानमन्त्री आफैंले फरक संकेत गरेपछि राजनीतिमा नयाँ चिजको विकास भएको स्वभाविक आँकलन गरिएको छ। 

यद्यपि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पनि ऋणका निम्ति मुलुक तयार हुने स्थिति नरहेको टिप्पणी गरेका थिए। चीन मात्र होइन कुनै देशसँग पनि अहिले ऋण लिन नसकिने महतको भनाईसँग मिल्नेगरी ओलीले सभामा घोषणा नै गरेका थिए।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्