स्थानीय तह उपनिर्वाचनका लागि काँग्रेसले पठायो १५ बुँदे आन्तरिक सर्कुलर
काठमाडौँ - नेपाली काँग्रेस स्थानीय तह उपनिर्वाचनका लागि पार्टी पङ्क्तिलाई १५ बुँदे आन्तरिक सर्कुलर पठाएको छ । महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचन हुने स्थानीय तहमा नेता कार्यकर्तालाई मिसन मंसिर १६ मा केन्द्रित हुन निर्देशन दिएका हुन् ।
सर्कुलरमा भनिएको छ, ‘मुख्य प्रतिस्पर्धी दलसँग सरकारमा सँगै रहेको भए पनि सरकारमा सहकार्य मैदानमा प्रतिस्पर्धाको नीतिमा हामी सबै प्रष्ट छौँ । आपसी एकता, विश्वास र व्यवस्थित कार्य योजनाका साथ हामीले परिणाम हासिल गर्नुछ ।’
चुनावी प्रतिस्पर्धाका बीच पनि दलहरूबिच सद्भाव र सामाजिक एकता कायम राख्न नेपाली काँग्रेसले नै विशेष समन्वय र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख छ ।
सबै नेता कार्यकर्तालाई उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिँदै गत निर्वाचनमापार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएका वा विरुद्ध रहेकाहरूलाई उपनिर्वाचनमा पार्टीको उम्मेदवार जिताउन निर्वाह गर्ने भूमिकाको आधारमा कारबाही फुकुवा, सदस्यता नवीकरण र जिम्मेवारी प्रदान गर्ने पार्टीको केन्द्रीय नीति रहेको पनि उल्लेख छ ।