मन्त्री यादवको निर्देशन- देशभरका खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस्
काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले गत असोजमा परेको अविरल वर्षासँगै गएको बाढीपहिरोका कारण क्षति भएका देशभरिका खानेपानी आयोजनाको मर्मत कार्यलाई छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।
गत असोज ११ गतेदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशभरिका खानेपानी प्रणालीमा गम्भीर प्रभाव परेको र क्षति पुर्याएका खानेपानी तथा पानी आपूर्ति बन्द भएका ठाउँमा हाललाई अस्थायी रूपमा भए पनि मर्मत एवं पुनर्निर्माण गरेर जनतालाई नियमित रूपमा पानी आपूर्ति गर्न मन्त्री यादवले निर्देशन दिएका हुन् ।
मन्त्री यादवले भने, ‘गत असोज ११ गतेदेखिको बाढीपहिरोले हाम्रा खानेपानीका आयोजनामा ठूलो क्षति गरेको छ, कतिपय ठाउँमा अहिलेसम्म पानी सञ्चालन गर्न सकिएको छैन, हाललाई अस्थायी रूपमा भए पनि आवश्यक प्राविधिक सहायता र स्रोत साधन तुरुन्त परिचालन गरी पानी आपूर्ति सहज गर्नुहोला ।’
यसै गरी मन्त्री यादवले बाढीपहिरोले क्षति गरेका खानेपानीका आयोजनाको पुनर्निर्माणलगायत कामका लागि आवश्यक पर्ने बजेटको व्यवस्थाका लागि आफूले पहल गरिरहेकाले हाललाई पानी आपूर्ति सहज गराउनतर्फ सबै क्षेत्रबाट लाग्न आग्रह गरे ।