Nic Ad Nic Ad
Nic Ad Nic Ad

निष्पक्ष र भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्न देशभरका सिडिओ र प्रहरी प्रमुखलाई निर्देशन

शुक्रबार, मंसिर ७, २०८१

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले स्थानीय तहको उपनिर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।

देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित सुरक्षा समितिका पदाधिकारीको बैठकलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री लेखकले निर्वाचनको सुरक्षालाई सामान्य रूपमा नलिन समेत आग्रह गरेका हुन् ।

‘३३ जिल्लाका ४१ स्थानमा उपनिर्वाचन हुदैछ,’ गृहमन्त्री लेखकले भने, ‘शान्ति सुरक्षा नभएर पुनः मतदानको स्थिति आए सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख जिम्मेवारी हुनुहोला।’

निर्वाचन सुरक्षाका लागि आवश्यक परे नेपाली सेना समेत परिचालन गर्न सक्ने विषयमा सरकारले तयारी गरेको बताउँदै उनले शान्ति सुरक्षाकै कारण निर्वाचन बिथोलिने अवस्था सिर्जना नहुने जनाए ।

‘लोकतन्त्रको आधार स्तम्भ भनेकै निर्वाचन हो,’ गृहमन्त्री लेखकले भने, ‘त्यसकारण भयरहित वातावरणमा निर्वाचन गराउन खटिनुहोस्।’

पछिल्लो समय मुलुकमा लागुऔषधको अवैध कारोबार र दुर्व्यसन बढ्नुका साथै ठूलो चुनौतीका रूपमा देखा परेको उनको भनाइ थियो ।

त्यसैगरी सामाजिक सञ्जाल र डिजिटल मिडियाका माध्यमको दुरुपयोग बढेकोप्रति चिन्ता व्यक्त गर्दै सो नियन्त्रणका लागि प्रहरीको साइबर ब्युराले कारबाही अघि बढाइरहेको पनि बताए ।

उनले देशभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रलाई राजश्व चुहावट नियन्त्रण, पछिल्लो समय चुनौतीका रूपमा देखिएको लागुऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण र सवारी दुर्घटना न्यूनीकरणमा गम्भीर भएर काम गर्न निर्देशन दिए ।

नागरिकको गुनासो व्यवस्थापनका लागि गृह मन्त्रालयले आवश्यक संयन्त्र निर्माण गरिरहेको जानकारी समेत दिए ।

त्यसैगरी गृहसचिव गोकर्णमणि दुवाडीले सरकारप्रति नागरिकको भरोसा बढ्ने गरी काम गर्न निर्देशन दिए । वैदेशिक रोजगारीका नाममा ठगी, आर्थिक अपराध, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण, आत्महत्या, लागुऔषध नियन्त्रण लगायतका विषयमा पनि ध्यान दिन प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा संयन्त्रलाई निर्देशन दिएका छन् ।

बैठकमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका प्रमुख प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहित मन्त्रालयको विभिन्न महाशाखाका प्रमुखहरूको समेत सहभागिता थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  २०:१८
प्रतिक्रिया दिनुहोस्