काठमाडौंमा पसल अनुगमन : ४९७ मध्ये २० मात्रै नियमअनुरुप, २०० दर्ताविना सञ्चालन
काठमाडौं- काठमाडौं महानगरपालिकाले ४ सय ९७ पसलको अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालन भएका पाइएको छ। साथै दुई सयभन्दा बढी व्यवसाय दर्ता नगरी सञ्चालन भएको पाइएको छ।
गत असोज १० देखि सुरु गरेको पर्वलक्षित अनुगमनमा ४ सय ९७ पसलमध्ये २० वटा नियमानुसार सञ्चालन भएका पाइएको कामपाले जनाएको छ। १ सय ३३ वटामा म्याद सकिएका वस्तु भेटिएका छन् भने ३ सय ११ वटामा मूल्यसूची नभेटिएको, दुई सय व्यवसाय दर्ता नगराई सञ्चालन भएको पाइएको कामपाको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए।
उनका अनुसार अनुगमन गरिएका पसलमध्ये ४ सय ३८ किराना, १८ मिठाई, १९ ड्राई फ्रुट्स, सात मसला र १५ वटा डेरी पसल छन्। बजारमा बिस्कुट, चकलेट, चाउचाउ, पापड, मसला, केचअप, जामलगायत खाद्यवस्तुमा म्याद सकिएको पाइएको न्यौपानेले बताए।
रसायन भएका वस्तुसँगै खाद्यवस्तु राखिएको, मूल्यसूची नराखेको, व्यवसाय दर्ता नगरेको, पसल परिसरको सरसफाइमा ध्यान नदिएको, लेबल नभएका वस्तु बेच्न राखिएको, ढक तराजु प्रमाणीकरण नगरी प्रयोग गरिएकोलगायत समस्या रहेका उनले जानकारी दिए।
मिठाई पसलहरुमा स्वीकृत भएकै रङ प्रयोग गरिए पनि मात्रा नमिलाइएको, तेललाई बारम्बार प्रयोग गरिएको, मिठाईमा उत्पादन र म्याद सकिने मिति उल्लेख नगरिएको, मिठाई बनाउने ठाउँ, पसल र भाँडाकुँडाको सरसफाइमा नभएको पनि अनुगमनका क्रममा फेला परेका उनले उल्लेख गरे। यी समस्या समाधानका लागि सम्बन्धितलाई अनुगमन टोलीले स्थलगत रुपमा निर्देशन र सुझाव दिएको छ।
कामपाले खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छताः प्रवर्धन शिविर (फुड सेफ्टी, बुट क्याम्प) कार्यक्रमसमेत सञ्चालन गरिरहेको विभागले जनाएको छ। खाद्य सेवामा अत्यधिक उपयोग हुने खानेकुरासँग सम्बन्धित क्षेत्रका व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी तालिम प्रदान गरिने कृषि तथा पशुपन्छी विभागका प्रमुख न्यौपानेले बताए।
पहिलो चरणमा साना तथा मध्यम स्तरका भोजनालयका तीन सय सञ्चालकलाई तालिम दिइएको छ। दोस्रो चरणमा दसैंलक्षित खानेकुरामध्ये मासुजन्य खाद्य वस्तुका उत्पादक तथा बिक्रेता ३ सय २१ र तिहारमा मिठाईजन्य खाद्यवस्तुको स्वच्छताका लागि तेस्रो चरणमा १ सय ६२ जनालाई तालिम दिइएको कामपाको कृषि तथा पशुपन्छी विभागले जनाएको छ। रासस