नेपाल–भारतका सैनिक प्रमुखले दुर्लभ मानिने एकअर्का देशमा किन मानार्थ ‘प्रधानसेनापति’को पद लिन्छन्?
काठमाडौं– विश्वमा नै दुर्लभ मानिने एक अर्काका देशका सैनिक प्रमुखलाई मानार्थ प्रधानसेनापति मान्ने चलन नेपाल र भारतमा रहेको छ।
प्रधानसेनापति सेनाका महारथी हुन्छन्। त्यस्तो पदको जिम्मेवारी नेपाल र भारतका राष्ट्रपतिले एकअर्कालाई दिने गरेका छन्।
यहि सन्दर्भमा भारतीय सैनिक प्रमुख उपेन्द्र द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले केही दिनअघि उक्त जिम्मेवारी दिए।
नेपालका प्रधानसेनापति अशोकराज सिग्देलले निकट भविष्यमा भारतको भ्रमणका क्रममा त्यहाँका राष्ट्रपतिबाट यस्तै मानार्थ सैनिक प्रमुखको जिम्मेवारी लिनेछन्।
‘एकअर्काबीचको सौहार्द सम्बन्धलगायतका स्वार्थका निम्ति गरिने यो परम्परा जायज र राम्रो छ’, सैनिकविदहरु भन्छन्,‘यसको संकेत नेपाल र भारतले एकअर्काबीच सैनिक सहचार्य मात्र हैन भ्रातृत्व पनि कायम राख्ने भावनात्मक सम्बन्ध कायम हुनेछ।’
यस्तो परम्पराको व्यावसायीक दृष्टिकोण पनि बलियो रहेको व्याख्या गरिन्छ।
नेपालले धेरै जसो गोलीगठ्ठाजस्ता घातक र अरू गैर घातक सैन्य सामग्रीहरू भारतबाट नै खरिद गर्ने गरेको छ।
भारत नेपालको सबैभन्दा ठूलो रक्षा साझेदार रहँदै आएको देखिन्छ र उसले नेपालका सुरक्षा निकायहरूलाई पेसागत तालिम, अस्त्र उपलब्ध गराउनुका साथै कतिपय पूर्वाधार निर्माणमा समेत सहयोग गरिरहेको छ।
नेपाली सेनाका अवकाशप्राप्त उपरथी बिनोज बस्न्यातले भारतको सैन्य सहयोगले नेपाललाई आफ्नो सैन्य क्षमता अभिवृद्धि गर्न ठूलो टेवा पुगिरहेको बताउँछन्।
‘नत्र त नेपालजस्तो देशलाई आफ्नो सैन्य खर्च बेहोर्न निकै कठिनाइ पर्ने अवस्था छ। त्यस्तो सहकार्य तालिम, घातक हातहतियारमा सहायता, विपद् प्रतिकार्यमा सहकार्यजस्ता दायरामा फैलिएको छ,’ नेपाली सेनाका पूर्व जर्नल विनोज बस्न्यात भन्छन्।
हाल भारतीय सेनामा सात वटा गोर्खा रेजिमेन्ट अन्तर्गत लगभग ४० वटा बटालियनमा करिब ३२ हजार नेपाली वा नेपाली मूल भएका व्यक्तिहरू कार्यरत रहेको भारतीय दूतावासको विवरण छ।
गोर्खा रेजिमेन्टमा कार्यरत फौजलाई भारतीय सेनाले चीन र पाकिस्तानको सीमासहितका आफ्नो संवेदनशील क्षेत्रमा खटाएको छ।