Nic Ad Nic Ad
Nic Ad Nic Ad

मिश्रित निर्वाचन प्रणाली संशोधन गर्न आवश्यक : डा.महत

शनिबार, मंसिर ८, २०८१

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक भएको बताएका छन् । नेपाली काङ्ग्रेस बीपी स्मृति प्रतिष्ठान गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित डा. महतद्वारा लिखित ‘नेपाली कांग्रेस र राष्ट्रनिर्माण’ नामक पुस्तकको परिचर्चा कार्यक्रममा पार्टी प्रवक्तासमेत रहेका डा. महतले समावेशी सहितको प्रत्यक्ष निर्वाचन आवश्यक रहेकाले मिश्रित निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने आवश्यकता औँल्याए ।

उक्त पुस्तक बीपी कोइराला स्कूल अफ पब्लिक पोलिसीद्वारा सन् २०२१ मा पहिलो पटक प्रकाशन भएको थियो । डा. महतले बीपीको आर्थिक नीतिको चिन्तनसँग वर्तमान आर्थिक नीतिलाई जोड्दै कांग्रेस अगाडि बढ्नुपर्नेमा जोड दिए । महतले तत्कालीन समयमा बीपीले समाजवादी अर्थतन्त्रलाई अगाडि बढाउँदै विपन्न वर्गको जीवनस्थल उकास्ने काममा सक्रिय रहेको जानकारी दिँदै त्यसबेला कृषिमा आधारित अर्थतन्त्र थियो भने अहिले उद्योगमा भएको उल्लेख गरे ।

विसं २०१२ मा बीपीले प्रजातान्त्रिक समाजवादलाई अँगाल्दै आर्थिक नीतिलाई अगाडि सारेकाले कांग्रेसले बीपीको बाटोलाई छाड्न नहुने डा. महतले धारणा राखे । पार्टीको आन्तरिक कारणबाट निर्वाचनमा पराजय हुन नदिन पार्टीका नेता तथा कार्यकर्ता एकजुट भएर जनताको सेवामा जुट्नुपर्नेमा नेता महतको जोड छ । विसं २०८४ को निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतमा पुर्‍याउन पार्टीका नेता तथा कार्यकर्ता सकारात्मक ऊर्जाका साथ जनतामाझ जानुपर्ने उनले सुझाव दिए ।

कांग्रेसले प्रजातन्त्रमा विश्वास राख्ने भएकाले पार्टीप्रति नेपाली आमजनताको विश्वास कायम रहेको बताउँदै उनले जनता केन्द्रित भएर विकास, निर्माण सबै लाग्नुको विकल्प नभएको बताए ।

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्