Nic Ad Nic Ad
Nic Ad Nic Ad

विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक : राजदूत किकुता

शनिबार, मंसिर ८, २०८१

काठमाडौँ- नेपालका लागि जापानका राजदूत किकुता युताकाले विपद् उत्थान पूर्वाधार निर्माण गरेर विपदबाट हुनसक्ने जोखिम एवं क्षति न्यूनीकरण गर्न सकिने बताएका छन् ।

जापानिज युनिर्भसिटीज् एलुम्नाई एसोसिएसन नेपाल (जुआन)द्वारा आज आयोजित ‘जलवायु परिवर्तन र प्राकृतिक प्रकोपको सम्बोधन : जापान र नेपाल भोगाइ’ विषयक गोष्ठीमा उनले विपदबाट हुनसक्ने जोखिम एवं क्षति कम गर्नका लागि जनचेतना अभिवृद्धि, पूर्व तयारी, विपद् उत्थान पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।गत मनसुनमा काठमाडौँ उपत्यकालगायत देशभरका विभिन्न ठाउँमा बाढी र पहिराले धेरै सडक अवरुद्ध हुँदा निर्माणाधीन नागढुंगा सुरुङमार्ग आकस्मिक रुटका रूपमा प्रयोग गरिएको स्मरण गर्दै राजदूत युताकाले विपद् उत्थान पूर्वाधार निर्माणबाट प्राकृतिक प्रकोपको समयमा राहत र उद्धारमा समेत सहयोग पुग्ने बताए ।

“जापान र नेपाल दुवै भूकम्पीय र हिमाली देश हुन् । दुवै देशले हरेक वर्ष जसो समान किसिमको प्राकृतिक प्रकोपको सामना गर्नुपरेको छ । यद्यपि, पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपको प्रभाव भयावह बन्दै गएको छ”, राजदूत युताकाले भने, “विपद् प्रतिरोध पूर्वाधारको निर्माणसँगै पूर्वतयारी र जनचेतनाले यसबाट हुने क्षति कम गर्न सकिन्छ ।”

जुआनका अध्यक्ष डा. सुनिल बाबु श्रेष्ठले विपद्को पूर्वतयारी, प्रारम्भिक चेतावनी प्रणाली र प्रकोप सामना गर्ने क्षमता अभिवृद्धिका लागि अपनाइने अभ्यासका विषयमा गोष्ठी आयोजना गरिएको जानकारी दिए । उनले जलवायु परिवर्तन र प्राकृतिक प्रकोपको जोखिमका विषयमा दीर्घकालीन समाधान खोज्न यस गोष्ठीले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

 

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १९:२०
प्रतिक्रिया दिनुहोस्