रंगशाला निर्धारित समयमा सम्पन्न गर्न निर्देशन
मकवानपुर- बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले हेटौँडा-६ मा निर्माणाधीन गौरिटार रंगशालाको काम समयमा सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । उनले रंगशालाको निर्माण गर्दा गुणस्तर विशेष ध्यान दिन आग्रह गरे ।
शुक्रबार स्थलगत अनुगमन गर्दै मन्त्री महर्जनले रंगशाला परिसरमा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशाला, पौडी पोखरी र फुटबल रंगशालालगायत पूर्वाधार निर्माण निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले पूर्वाधार निर्माणको हालसम्मको प्रगति विवरणबारे जानकारी लिएका थिए । प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि स्तरीय खेलकुदका संरचनासँगै खेलाडी प्रोत्साहनमा काम गर्ने लक्ष्य लिएको मन्त्री महर्जनले बताए ।फुटबल रंगशाला निर्माण अन्तिम चरणमा पुगिसकेको भन्दै चाँडै निर्माणले पूर्णता पाउने प्रदेशस्थित खेलकुद परिषद्का सदस्य सचिव दीपक लामाले जानकारी दिए । अन्य संरचना निर्माणले पनि तीव्रता पाएको उनको भनाइ छ । प्रदेश सरकारले गत आवदेखि क्रिकेट रेगशाला निर्माण गर्न रु. १२ करोड र स्वीमिङ पुल निर्माण गर्न रु. नौ करोड बजेट विनियोजन गरी काम थालेको थियो ।
रंगशालामा पहिलो चरणमा छ सयभन्दा बढी दर्शक अट्ने क्षमताको एउटा प्याराफिटसहित पाँच वटा पिच, ७० मिटर रेडिएसनको ग्राउण्ड भिभिआइपी कक्ष, खेलाडी कक्ष, चेन्जिङ रुम, टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपांगमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुने परिषद्ले जनाएको छ ।
केन्द्रीय खेलकुद प्रतिष्ठानका रूपमा विकास गर्ने गरी तत्कालीन समयमा खेलकुद परिषद्ले संरचना निर्माण गर्न थालेको थियो । बजेटले निरन्तरता पाउन नसक्दा १४ वर्षसम्म यो रंगशाला निर्माणले गति लिन सकेको थिएन । विसं २०६४ जेठ २८ जेठ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रंगशालाको शिलान्यास गरेका थिए ।