कृषि क्षेत्र उपेक्षित भएको महोत्तरीका मतदाताको गुनासो
महोत्तरी - स्थानीय तह उपनिर्वाचनको सँघारमा भोट माग्न घरघर पुगेका विभिन्न राजनीतिक दलका नेतासँग महोत्तरी रामगोपालपुर-२ का मतदाताले कृषि क्षेत्र राज्यबाट उपेक्षित भएको गुनासो गरेका छन् ।
भोट माग्दै घरघर पुगेका दलका नेताहरूसँग सो बस्तीका किसानले आफ्ना समस्या कुनै तहका सरकारले समाधानको प्रयास नगरेको गुनासो गरेका हुन् । उम्मेदवार आफ्नै बस्तीका बासिन्दा भए पनि उनीहरूका लागि मत माग्न अहिले विभिन्न दलका केन्द्रीय तहका नेताहरू आएपछि आफ्ना सुविधा र सहुलियतबारे उपल्लो तहका नेतासँग मतदाताले गुनासो गरेका हुन् ।
“यहाँका बासिन्दा ९० प्रतिशत बढी खेतीपातीमा छौँ, तर हाम्रो खेतमा सिँचाइ सुविधा छैन, समयमा बीउबिजन र मलखाद पनि पाइँदैन”, सो वडाका अगुवा किसान मोहम्मद कादिर हुसैन भन्छन् “मत माग्न आउने सबैजसो दलका नेतासँग यहाँका हामीले यही गुनासो गरेका छौँ ।”
रामगोपालपुर-२ मा अहिलेसम्म नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोल्युटब्यूरो र केन्द्रीय सदस्य एवं मधेश प्रदेश कमिटीका पदाधिकारीहरू र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित केन्द्रीय पदाधिकारीले आफ्ना दलका उम्मेदवारलाई भोट हाल्न मतदातासँग आग्रह गर्दै किसानका समस्याप्रति आफूहरू गम्भीर रहेको बताएका छन् ।
यही मङ्सिर १६ गते रामगोपालपुर–२ मा हुने चुनावमा दलका सात जना र ११ स्वतन्त्र गरी १८ जना उम्मेदवार प्रतिस्पर्धा गर्दै छन् । यो वडामा दुई हजार एक सय ४१ मतदाता छन् । वडाध्यक्ष मुकेशकुमार यादवको निधन भएकाले रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।