आरजु राणानिकट श्रेष्ठ कांग्रेस पदाधिकारी बनाइए, कोषाध्यक्षको जिम्मेवारी
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराज्यमन्त्री उमेश श्रेष्ठलाई कांग्रेसको पदाधिकारीमा मनोनयन गरेका छन्।
शीर्षमै गनिने र महत्वपूर्ण कोषाध्यक्ष पदमा श्रेष्ठलाई मनोनयन गरिएको हो।
श्रेष्ठको शिक्षालगायतका विभिन्न क्षेत्रमा ठूलो लगानी रहेको छ। उनी गत निर्वाचनमा चितवन–२ मा रास्वपा सभापति रवि लामिछानेसहितसँग चुनावी प्रतिस्पर्धामा पराजित भएका थिए।
श्रेष्ठलाई सभापति देउवा पत्नी तथा कांग्रेस नेत्रीका साथै परराष्ट्र मन्त्रीसमेत रहेकी आरजु राणा निकट मानिन्छ।
कांग्रेसका १४ सदस्यीय पदाधिकारीमध्ये १३ जना निर्वाचित भइसकेका छन्। सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भए भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका थिए।
त्यस्तै महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भए भने आठ सहमहामन्त्री पदमा क्लष्टर अनुसार निर्वाचन भएको थियो।
महिलातर्फ डीना उपाध्यक्ष, आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे, दलितर्फ जीवन परियार, खसआर्यतर्फ किशोरसिंह राठौर विजयी भएका थिए। त्यस्तै मधेसीतर्फ महेन्द्र यादव, मुस्लिम तर्फ फरमुल्लाह मन्सुर र थारुतर्फ उमाकान्त चौधरी सहमहामन्त्रीमा निर्वाचित भएका थिए।
रिक्त रहेको कोषाध्यक्षमा भने केन्द्रीय सदस्य मध्यबाट श्रेष्ठलाई सभापति देउवाले छानेका हुन्।
विगतमा कोषाध्यक्ष पदमा निर्वाचन हुने गरेकोमा पछिल्लो पटक विधान संशोधन गरेर कोषाध्यक्षबाहेकका पदाधिकारी पदमा निर्वाचन हुने प्रावधान राखिएको छ। कांग्रेसको १२ औं महाधिवेशनबाट कोषाध्यक्षमा चित्रलेखा यादव निर्वाचित भएकी थिइन् भने १३ औंमा सीतादेवी यादव निर्वाचित भएकी थिइन्।