आश्चर्यजनक ताजा तस्बिर!
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको साइडबाट हेर्ने हो भने पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दाहिना छन्।
माथिको तस्बिरमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देखाइएको छैन, तलको तस्बिरमा छन्। यो ताजा तस्बिर हो। र, आश्चर्यजनक पनि हो।
यसको कारण हो– नेपाल ओलीका दाहिना छन्। सँधै गम्भिर मुद्रामा रहेका उनी ओलीको सामिप्यमा बसेर मुस्कान छाडीरहेका छन्।
त्यस स्थानमा अरुबेलाको सामूहिक भेट हुन्थ्यो भने, प्रचण्ड हुने थिए, सायद। तर, एकअर्काको अनुहारसम्म पनि राम्रोसँग हेर्न तयार नहुने ओली–नेपाल साथसाथ छन्।
राजनीतिमा स्थायी शत्रु र मित्र नहुने भनिए पनि ओली–नेपालको सम्बन्धलाई त्यसरी परिभाषित गर्न नमिल्ने बनिसकेको थियो।
तर, यसमा सुधार छ र अचम्म लाग्न सक्छ भन्ने आँकलन गर्न केही साताअघिको माधवकुमार नेपालको अन्तरवार्ता संकेत थियो। उनले भनेका थिए,‘अरुबेला कुराउने मानिस समयमा आउनुभयो, भेट भयो प्रधानमन्त्रीजीसँग।’
यो तस्बिर किन आश्चर्यजनक हो भन्ने विषयलाई पुष्टि गर्न बिगत कोट्याउन आवश्यक हुन्छ।
किनभने एक दशकदेखि ओली र नेपालको राजनीतिक सम्बन्ध कठ्याङ्ग्रिदो थियो।
२०७१ साउनमा सम्पन्न एमाले महाधिवेशन पछाडि भने ओली–नेपालबीचको सम्बन्ध कहिल्यै राम्रो थिएन।
ठ्याक्कै, एक दशक।
ओलीले नेपालको विश्वास जित्न नसक्नुमा धेरै टाढाको सम्झना आवश्यक नपर्ने स्थायी कमिटी सदस्य रघुजी पन्तले बताएका थिए। खैर, पन्त अहिले ओलीनिकट छन्, माधवकुमार नेपाल गठित पार्टीमा गएनन्। एकै दलमा हुँदा पन्त ओलीबिरोधी गुटमा हुन्थे।
पार्टीको जिम्मेवारी दिँदा र संवैधानिक नियुक्तिमा समेत ओलीले नेपाल पक्षलाई छानीछानी पन्छाउने गरेको आरोप लागेको थियो। यसैकारण नेकपा रहँदा ओलीका चाललाई अध्यक्ष नेपालले जहिले पनि बिरोध गरिरहे।
‘कसले के पायो भन्दा पनि जनताको जीवन रक्षा प्रमुख एजेण्डा बन्नुपर्छ, सरकार सफल हुँदा मात्रै पार्टी बलियो हुन्छ। तर, व्यक्तिबारे मात्रै सोच्न थालियो भने परिणाम उचित आउन सक्दैन’, छविलाल विश्वकर्माले भनेका थिए।
व्यक्ति केन्द्रित भएर निर्णय लिन थाल्दा समस्या हल नहुने भएकाले शीर्ष नेताहरुबीचको सहमतिका चर्चा नेताहरूले गर्थे, नेकपा कालमा।
बरियता विवादमा झलनाथ खनालसँग नेपाललाई विवादमा तान्नेदेखि माओवादीसँग एकताका क्रममा जिल्ला तहमा समेत नेपाल पक्षलाई भूमिकाविहीन बनाउने काम ओलीले गरेको आरोप लागेको थियो र यस्तै यस्तै कारणले सम्बन्धमा चिसोपन बढ्यो।
यो हदमा पुग्यो कि पार्टी विभाजन र पुनर्जीवित हुँदा पनि एउटा छातामा रहने स्थिति नभएका कारण माधवकुमार नेपालले नयाँ पार्टी दर्ता गर्ने स्थिति आयो।
अहिले पनि प्रतिपक्षी कित्तामा छन्। सँधै एकअर्काका आलोचक रहेका यी दुई जनाको तस्बिर अहिलेको आश्चर्य मान्नुपर्छ। किनभने ओलीले त नेता नेपालको स्वास्थ्य लाभको कामना पनि लिएका थिएनन् भने नेपालले खराब प्रवृत्तिको उपमा नै ‘ओली’सम्म भन्न भ्याएका थिए।
यो तस्बिर प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका निम्ति तय गर्ने एजेन्डाको छलफलका क्रममा लिइएको हो, सोमबार। प्रधानमन्त्रीको सचिवालयबाट प्राप्त तस्बिरको मुस्कानले भन्छ,‘राजनीतिमा आश्चर्य पनि हुन्छ।’