आठ महिनामा १४ वटाले लगानी उठाए, ५ ‘ब्लकबस्टर’ : नेपाली फिल्महरू चल्नुको कारण
काठमाडौं– हलहरूमा पानी समेत भन्न नपाई नेपाली फिल्महरू उत्रिने स्थिति गत वैशाख महिनादेखि रोकिएको छ। बलिउडका ठूला बजेट र स्टार भएका फिल्महरूसँग जुध्ने मात्र होइन पछिल्ला महिनाहरूमा त त्यस्ता फिल्मलाई नेपाली हलमा आउनै मुस्किल परेको थियो।
त्यसको पछिल्लो उदाहरण हो दक्षिण भारतीय फिल्म ‘कँगुवा’। प्रतिक्षित भनिएको सूर्या र बबी देओलको यो फिल्म नेपाली हलमा नलाग्नुको कारण बन्यो बिजय बरालको ‘पूर्णबहादुरको सारङ्गी’।
फिल्म हलहरूमा देखिएको दर्शकहरूको चाप र प्रदर्शन भएका दिनहरूले पनि त्यसलाई पुष्टि गरेका थिए। अहिले ‘तेल भिषा’को पनि राम्रो चर्चा चलिरहेको छ।
यो वर्षको सुरुमै प्रदर्शनमा आएको केकी अधिकारीको ‘बोक्सीको घर’ले ‘बक्स अफिस’मा १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको थियो।
त्यसपछि प्रदर्शनमा आएका अन्य नेपाली चलचित्रहरू ‘मनसरा’, ‘पुजार सार्की’, ‘फर्कीफर्की’, ‘घरज्वाइँ’, ‘खुस्मा’, ‘बेहुली फ्रम मेघौली’, ‘गाउँ आएको बाटो’लगायतको पनि निकै चर्चा भएको थियो।
सबैले लगानी उठाए भने अधिकांशले नाफा कमाएको निर्माता र वितरकहरूले बताएका थिए।
फूलपातीका दिन प्रदर्शन सुरु भएका ‘छक्कापन्जा ५’, ’१२ गाउँ’ र ’ज्वाइँ साब’ तीनवटैलाई व्यावसायिक रूपमा सफल चलचित्र मानिएको छ।
निर्माता र वितरकहरूले सार्वजनिक गरेका विवरणहरूमा जनाइएअनुसार १२ गाउँले २६ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको थियो भने छक्कापन्जा ५ले २० करोड रुपैयाँभन्दा बढी कमाएको थियो। ज्वाइँ साबले भने तीन करोड रुपैयाँभन्दा बढी कमाएको बताइएको छ।
चलिचित्र विकास बोर्डका अधिकारीहरू तथा चलचित्र वितरकका अनुसार हालसम्म देशभित्रै सबैभन्दा बढी कमाइ गर्ने चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ बनेको छ। उसले ४५ करोड कमाएको चर्चा छ।
अहिलेसम्म सबैभन्दा धेरै कमाउने चलचित्र कबड्डी ४ थियो। त्यो फिल्मले त्यस्तै २३÷२४ करोड कमाएको थियो। पूर्णबहादुरको सारङ्गीले चाहिँ ५० करोडसम्म कमाइ गर्ने जस्तो देखिएको छ।
यसै वर्ष प्रदर्शन भएका ‘शाम्बाला’ र ‘गाउँ आएको बाटो’ले पनि व्यापक चर्चा पाए। ती दुवै फिल्महरू धेरैवटा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा प्रदर्शन भएका थिए।
नेपाली चलचित्रहरूले पाएको सफलताले नेपाली फिल्म क्षेत्र व्यावसायिक उद्योगका रूपमा स्थापित हुने आशा जागेको कतिपय निर्माताहरू बताउँछन्।
निर्देशक तथा कलाकार दीपाश्री निरौलाका अनुसार माटो सुहाउँदो फिल्म भयो भने त्यसलाई दर्शकले मन पराउँछन् भन्ने अहिलेको बहावले देखाएको छ।
उनी अहिले फरकफरक विधाका फिल्महरू चल्नु र सफल व्यापार गर्नुले बहुविधामा फिल्म बनाएर सफल हुन सकिन्छ भन्ने स्थापित भएको बताउँछिन्।
पहिले बलीवुड वा हलीवुड सिनेमाबाट प्रभावित भएर नेपाली फिल्म बनाउने चलन थियो। अहिले फिल्म चल्नुको अर्को कारणचाहिँ कलाकारहरूको निखारतासहितको कथा पनि रहेको बताइन्छ।
पहिले कुनै बेला सुपरस्टारको खोजी हुन्थ्यो होला तर अहिले राम्रो कथा भयो भने त्यसमा को खेलेको छ नभनी दर्शकले हेर्ने चलन बढेको बुझाईको विकास भएको छ।
नेपाल चलचित्र समीक्षक समाजका उपाध्यक्ष सामीप्यराज तिमल्सेना पनि अहिले दर्शकले कुनै व्यक्ति वा कलाकारभन्दा कथा खोज्न थालेको बताउँछन्।
उनले भनेका छन्,‘राम्रो कथामा राम्रो कलाकारको अनुहार मिसिएको ठिकै होला तर अब अनुहार मात्र ठूलो विषय होइन भन्ने सन्देश प्रवाहित भएको छ।’
तिमल्सेनाले गत वैशाखयता हालसम्म प्रदर्शनमा आएकामध्ये १४ वटा चलचित्रले लागानी उठाउनु र त्यसमध्ये पाँच वटा ब्लक्बस्टर हुनुले नेपाली फिल्मका लागि यो स्मरणीय वर्ष हुने बताउँछन्।
अहिले नेपाली फिल्म चल्नुमा सामाजिक सञ्जाल फेसबुक रिल, टिकटकलगायतको प्रभाव पनि एउटा प्रमुख कारण बनेको हो।
पूर्णबहादुरको सारङ्गीका मुख्य अभिनेता बिजय बराल नै यसलाई मान्छन्। अनि, माउथ पब्लिसिटी अर्को कारण हो। यहि फिल्म पनि रिलिज भएको दुई दिनसम्म चलेको थिएन तर सामाजिक सञ्जाल र माउथ पब्लिसिटीका कारण ठूला ठूला ब्यानरका हिन्दी फिल्मलाई समेत नेपाली बजारमा छिर्न रोकेको थियो।