दाङमा तोरीको उत्पादन बढ्दै
घोराही – शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका किसान भावना पुरीले व्यावसायिक रुपमा तोरीखेती गर्दै आएकी छन् । उनले विगत लामो समयदेखि तोरीखेती गर्दै आएकी हुन् । तेल किनेर खाँदा महँगो पर्ने हुँदा आफैँले उत्पादन गर्दै आएको उनी बताउँछिन् ।
‘बाहिर किनेको तेल स्वास्थ्यका लागि पनि त्यति राम्रो नहुने र तोरी नै उत्पादन गर्दा आफ्नो लागि र बिक्री गर्नसमेत मिल्ने भएकाले यसको खेती गर्दै आएको छु’, उनले भनिन्, ‘घरमा आवश्यक परेको राख्ने र अरू सबै उचित मूल्य पाएको समयमा बेच्ने गर्ने गरेको उहाँ सुनाउनुहुन्छ ।’ उनले १० कट्ठा जग्गामा लगाएको तोरीबाट तीन क्विन्टल बढी उत्पादन हुने गरेको बताइन्।
तोरी घरका लागि राखेर पनि अरू बेचेर आम्दानी गर्दै आएको उनले बताइन्। घोराही उपमहानगरपालिका–१० का किसान रेशम डाँगी पनि आफूलाई खानका लागि तोरी आफफैँ उत्पादन गर्दै आएको बताउँछन्। राम्रो तोरीको तेल नै हुने भएको तोरीको खेती गर्दै आएको उनले बताए। किनेर खानुभन्दा समयमा मेहनत गरियो भने वर्षभरि खान पुग्ने उनको अनुभव छ ।
जिल्लामा तोरीखेती गर्ने किसानको सङ्ख्या बढ्दै जाँदा उत्पादन पनि बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार गत वर्ष दाङमा १६ हजार चार सय १० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो । त्यसबाट १६ हजार नौ सय ४३ दशमलव तीन मेट्रिक टन तोरी उत्पादन भएको उनी बताउँछन्।