रवि लामिछानेप्रति मूलधारका मिडिया किन सकारात्मक बन्न सक्तैनन्, मुख्य दुई कारण
काठमाडौं– यस टिप्पणीपछि हुने सम्भावित प्रतिक्रियाको पूर्वजानकारी छ। तथापि, तथ्यको कसीलाई राख्नु उचित ठानेको छ, टिप्पणीकर्ताले।
अहिले सहकारी ठगी प्रकरणमा प्रहरीको अनुसन्धान र आइतबार मात्र १५ दिन म्याद थपी संगठीत अपराध र सम्पत्ति शुद्धिकरणमा छानबिन जारी राखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेप्रति मूलधारका मिडिया ‘बायस’ देखिएको जस्तो लाग्छ।
आफू उपप्रधान तथा गृहमन्त्री रहँदा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेका लामिछानेविरुद्ध उसका आफ्ना केही मिश्रित स्वार्थ हुन सक्लान्। तर, सबै नै ठूला भनिएका मिडिया किन लामिछानेप्रति सकारात्मक धारणा बनाउन सकिरहेका छैनन्?
पहिलो कुराचाहिँ मिडियामा आउने समाचारमा उसको साहुजीको कति प्रभाव होला त्यो विषयको बहस चलाउन सकिन्छ। तर, न्युजरुमको नेतृत्वचाहिँ सम्पादकले गरेका हुन्छन्।
त्यसअघि हालै अमेरिकामा निर्वाचित भएका राष्ट्रपति डोनल्ड ट्रम्पप्रति त्यहाँका मूलधारका धेरै मिडिया र युरोपसहितका देशका मिडिया किन सकारात्मक नभएका होलान्?
मिडियाको न्युजरुमले सम्बन्धित व्यक्तिको चरित्र, उसका अपराध, उसका स्क्याम, उसको धारणाले ल्याउन सक्ने सम्बन्धित सङ्कटलाई विचरण पनि गर्छ। यसकारण ७० भन्दा बढी मुद्दा भएका ट्रम्पलाई अमेरिकी जनताले जिताए पनि त्यहाँको बौद्धिक मानिने मिडियाले खतराको विषयमा खबरदारी अहिले पनि जारी नै राखेका छन्।
यो लोकतन्त्रको सुन्दर र नवीनतम पक्ष हो। अब, रवितिर फर्कौं।
उनको यो आलोचना पटक्कै होइन। यो उनको आचरणको कसीको व्याख्या हो। अति महत्वकांक्षाको दौडले दुर्घटना निम्त्याउँछ। तिव्र गतिको सवारी साधन पनि कहिँ न कहिँ दुर्घटनामा पर्छ।
कुनै अन्तरवार्तामा जगदीश खरेलले रवि लामिछानेप्रति संकेत गरेर भनेको हेरेको थिएँ,‘माहुरी आफ्नै गुलियोमा टाँसिएर उठ्न सक्तैन।’
अमेरिकाबाट देश बनाउन फर्किएको भन्नु स्वभाविक मान्नुपर्छ। गिनिज बुकमा नाम लेखाएर देश चिनाउनुलाई धन्यवाद दिनुपर्छ। तर त्यसको चर्चा र श्रेयलाई गलत प्रवृत्तिमा ढाल्ने र त्यसको पनि ढाकछोपका लागि लोकप्रियता नै चकनाचुर हुनेगरी राजनीतिमा प्रतिस्थापन गर्ने चेष्टा सही थियो कि गलत? अदालती प्रक्रियाले गर्ने आदेश, फैसलापछि निक्र्यौल गरौंला।
तर मूलधारे भनिएका मिडिया किन लामिछानेप्रति अहिले होइन, पहिलादेखि नै आलोचनात्मक थियो? नेपथ्यमा उनले प्रेस काउन्सिलप्रति देखाएको व्यवाहार एउटा आधार होला तर राजनीतिक जीवनमा प्रवेश गरेपछिका मुख्य दुई कारण भेट्छ टिप्पणीकार।
मिडिया हाउस सञ्चालकका निजी मामिला र खराबी नहुने भन्ने होइन, हुन सक्लान्। त्यसको पनि सोही हिसाबले खोजी हुनुपर्छ। तर, पत्रकार या सम्पादक रवि लामिछानेका विषयमा किन सकारात्मक हुन सकिरहेका छैनन्?
पहिलो, रविको राजनीतिक उदयप्रतिको इष्र्या होइन। उनीबाट परिवर्तन हुन सक्ने लख काटिरहँदा सहकारी प्रकरणदेखि अनेक काण्डमा लामिछानेको संलग्नताका प्रमाणहरूको फेहरिस्त पनि हो।
जुन राजनीतिज्ञसँग आश गरिएको हुन्छ उसको मुखिया अथवा अगुवा नै ‘बाटो ...गुवा’ निस्कने भएपछि विकल्पहिन स्थितिमा देश पुग्ने त होइन भन्ने चिन्ता हो। यसकारण रवि लामिछानेप्रति आलोचनात्मक बन्नु स्वभाविक जस्तो देखिन्छ।
दोस्रोचाहिँ, उनले गृहमन्त्रीको पद पहिलो चरणमा खुस्केपछि नामै किटेर गरेको हत्कण्डा र सृजना गरेको भाष्य हो। उनले नेपाली मिडियामा लामो समयसम्म योगदान गरेका सम्पादकको नाम किटेरै ‘१२ भाई’, ‘डबल मार्ट’, सम्पादक्नी भाउजूहरुले मोबाइल ह्वाट्स एप हेर तिम्रो श्रीमानको चरित्र देखिन्छ आदी अनादर गरी बोलेका थिए।
यति मात्र भनेका थिएनन् ‘पापी, मलाई यति दुख दिएका छन् नि’ भनी निजी हिसाबमा नै प्रतिवाद गर्नुपर्ने अवस्थामा पुराएका थिए। उनको उक्त भनाईको कतिपय सम्पादकले विविध माध्यमबाट खण्डन र प्रतिवादसहित चुनौती पनि नदिएका होइनन्।
देशमा ठूलो मत पाएको, आशा गरिएको र भर्खरै उपप्रधान तथा गृहमन्त्री बनिसकेर उनकै नागरिकता प्रकरणमा अदालतले प्रक्रियामा जानका लागि आदेश दिँदा पत्रकार तथा सम्पादकको निजी जीवनसँग के अर्थ राख्छ? त्यो आवेगका लामिछाने नसच्चिनु र अहिले एकमाथि अर्को स्क्याम्पमा बेरिँदै जानेलाई कुनै पनि सम्पादक या पत्रकारले निजी रुपमा निको मान्न सक्तैन।
रवि लामिछानेको नाम र ब्रान्ड उनको पार्टीका निम्ति खपतयोग्य होला, भएको राम्रो पनि हो। तर, त्यो ब्रान्डको पनि मन्थन कुनै एउटा पक्षले ‘ग्रे एरिया’बाट गरिरहेको हुन्छ। सामाजिक भनेको सञ्जालबाट असामाजिक हल्लाको प्रायोजित बाढीले तथ्यलाई निमोठ्न र निचोर्न सकिँदैन। बाँकी भनेको अदालती प्रक्रियापछि ल?