संखुवासभामा प्रस्तावित ४५४ मेगावाटको किमाथांका अरुणका लागि जग्गा अधिग्रहण सुरु
काठमाडौं-संखुवासभा जिल्लामा विद्युत उत्पादन कम्पनी लिमिटेडद्वारा प्रस्तावित ४५४ मेगावाटको किमाथांका अरुण जलविद्युत आयोजना निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको छ।
पहुँच सडक, विद्युत गृह, बाँध, सुरुङ र विद्युतगृह लगायतका संरचनाहरु बनाउन आयोजनाले साबिक चेपुवा गाविस १, ३, ४, ६ र ७ (हालको भोटखोला गाउँपालिका-२) मा जग्गा अधिग्रहण गर्ने भएको हो।
आयोजनालाई चाहिएको २९७ वटा कित्ताका जग्गा अधिग्रहणका लागि जिल्ला प्रशासन कार्यालय संखुवासभाले मंगलबार सूचना जारी गरेको छ। सय जनाभन्दा बढी गाउँलेको जग्गा अधिग्रहण गर्दा १८ वटा कित्ता दर्ताविनाका छन्।
जग्गाहरू, जग्गामा भएका घर तथा अन्य संरचनाहरू समेत जे जस्तो अवस्थामा छन् स्थायी रूपले अधिग्रहण गर्नुपर्ने भएकाले जग्गा प्राप्ति ऐन २०३४ को दफा ९, १० र ११ बमोजिम आफैं वा अख्तियार प्राप्त वारेसमार्फत मुआब्जा दाबी गर्न, आफ्नो हकदैया भोगचलन र जग्गाको विवरण छुट भएमा फरक परेमा सो सम्बन्धी आफ्नो निस्सा प्रमाण (जग्गाधनी प्रमाण पुर्जा, तिरो तिरेको रसिद, नागरिकताको प्रतिलिपि) सहित ३५ दिनभित्र जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा निवेदन दिन सूचनामा भनिएको छ।
आयोजनाले २६.८ किलोमिटर पहुँचमार्ग निर्माण गर्ने डिजाइन छ। वातावरण प्रभाव मूल्यांकनको काम भइसकेको आयोजनाको लागत करिब ९३ अर्ब रुपैयाँ रहने प्रारम्भिक अनुमान छ।