मूल्य घटेपछि सुन किन्नेको भीड
काठमाडौं- पछिल्लो दुई दिनमा सुनको मूल्य प्रतितोला साढे १८ हजार रूपैयाँले घटेको छ।
मंगलबारको लागि एक तोला सुनको मूल्य एक लाख ४८ हजार सात सय रूपैयाँ पुगेको छ। नेपाल सरकारले सुनमा लगाएको भन्सार महसुल आधाले घटाएको र अन्तर्राष्ट्रिय बजारमा समेत मूल्य घटेपछि एकैपटक यति धेरै भाउ घटेको हो।
करिब एक महिना अघि (कात्तिक १५ गते) स्थानीय बजारमा सुनको मूल्य एक लाख ७१ हजारसम्म पुगेको थियो। एक महिनाको अवधिमा नै १२ प्रतिशतले मूल्य घटेर डेढ लाखभन्दा तल झरेपछि पसलहरूमा उपभोक्ताको भिड देखिन थालेको छ।
व्यवसायीहरूका अनुसार हिजो सोमबार विशेषगरी न्युरोडका पसलहरूमा उपभोक्ताको घुइँचो देखिएको थियो। अन्य पसलहरूमा पनि सामान्य अवस्थामाभन्दा बढी माग आएको व्यवसायीहरूले बताएका छन्।
'उपभोक्ताको चासो बढेको छ, लामो समय कारोबार नै नभएकोमा अब बढ्ने अपेक्षा गरेका छौं,' तनहुँको दमौलीमा सुन पसल सञ्चालन गरेका नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मोहनकुमार सुनुवारले भने।
न्युरोडका व्यवसायीले भने हिजो सुनको अर्डर समेत लिन नसकेको बताएका छन्।
'मूल्य घटेपछि सुन किन्नेको घुँइचो नै लागेको छ। मेरो पसलमा मात्रै होइन न्युरोडका सबै पसलमा यस्तै अवस्था छ। तर, हामीसँग सुन नै छैन,' लामो समयदेखि न्युरोडमा सुनचाँदीको व्यवसाय गर्दै आएका तेजरत्न शाक्यले भने, 'उपभोक्ताको घुइँचो बढेर के गर्नु हामीले त अर्डर नै लिन सकेका छैनौं। न हामीसँग सुन छ न त बैंकसँग।'
नेपाल सुन चाँदी व्यवसायी महासंघका उपाध्यक्ष धर्मसुन्दर बज्रचार्य पनि उपभोक्ताको चासो बढेको प्रतिक्रिया दिन्छन्। उनले काठमाडौंको बानेश्वरमा सुन पसल सञ्चालन गरेका छन्।
चालु वर्षको औसत दिनमा वैधानिक आयात भएको सुनको औसत कारोबार डेढदेखि दुई केजी भएकोमा हिजो पसलहरूमा स्टक भएको करिब पाँच केजी सुनको कारोबार भएको हुन सक्ने आकलन गरिएको छ।
नेपाल भारतमा सुनको मूल्यमा ठूलो अन्तर भएपछि वैधानिक आयात भएको सुनको कारोबार नगन्य मात्रै हुने गरेको व्यवसायीको गुनासो रहेको थियो।