के दुर्गा प्रसाईंको मोबाइलमा नरेन्द्र मोदी र योगी आदीत्यनाथसित फोन गरेको रेकर्ड भेटियो?
काठमाडौं– साइबर क्राइम मुद्धामा पक्राउ गरी अनुसन्धानका क्रममा रहेका विवादीत मेडिकल व्यावसायी दुर्गा प्रसाईंको प्रहरीलाई चुनौती छ– मोबाइलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसित गरेको फोनबाहेक केही भेट्दैनन्।
अघिल्लो मंगलबारदेखि नेपाल प्रहरीको साइबर ब्युरोको थुनामा छन् उनी। ८ दिन भए पनि फेरि म्याद थपका लागि अदालतमा लगिएको छ। प्रसाईंले युट्युबरहरूलाई बोलाएर कम्बोडियाको टेलिकम कम्पनी आजियाटामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको दाबी गर्दै भिडियो सार्वजनिक गरेका थिए।
सोही आरोपमा प्रसाईंलाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो। आफ्नो पक्राउविरुद्ध प्रसाईं बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत समेत पुगेका थिए । तर, आइतबार (हिजो) सर्वोच्चले प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश गरेको छ ।
क्यानसरपीडित प्रसाईं आइतबार राति भने वीर अस्पतालमा भर्ना भएका थिए। प्रसाईंको घरबाट केही कागजात, तीन ल्यापटप र नौ मोबाइल बरामद गरेको छ ।
विद्युतीय अपराध ऐन, २०६३ विपरीतको कसुरमा अनुसन्धानका निम्ति पक्राउ गरिएकाले थप प्रमाण भेटिन सक्ने भन्दै सीआईबीले उनीसहित बरामद सामग्री साइबर ब्युरोमा पठाएको छ। बरामद गरिएको ल्यापटप र मोबाइल जाँचका निम्ति डिजिटल फरेन्सिक ल्याब (डीएफएल)मा पठाएको छ।
प्रसाईंले आफ्नो फोन र ल्यापटपमा कुनै गलत प्रमाण नभएको दाबी गरेका छन्। स्रोतका अनुसार, अनुुसन्धानमा खटिएका प्रहरी अधिकारीलाई उनले भनेका छन्, ‘मेरो मोबाइलमा कसैको पनि गलत प्रमाणहरू छैनन् । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भएको फोनको डिटेल होला, त्यो हेर्नू । त्यही हेर्न मन थियो होला, हैन?’
तर साइबर ब्युरोका एक उच्च अधिकारी क्यानडा नेपालसँग भन्छन्,‘हामी परिक्षण र अनुसन्धानका क्रममा छौं। अझै अनुसन्धान बाँकी रहेका कारण सबै कुरा भन्ने अनुकूलता छैन।’
तर प्रसाईंसँग मोदी र आदीत्यनाथलाई फोन संवाद गर्न सक्ने क्षमता छ त? अहिले यहि विषयको बहस सतहमा आइसकेको छ।