Nic Ad Nic Ad
Nic Ad Nic Ad

यसकारण रवि लामिछानेलाई ल्याइएन काठमाडौं, बलियो प्रमाण त रुपन्देहीमा भेटियो

मंगलबार, मंसिर ११, २०८१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार काठमाडौं ल्याउने विषय राम्रै ताते पनि ल्याइएन। 
बुधबार पनि उनलाई काठमाडौं ल्याउने सम्भावना क्षीण रहेको प्रहरी उच्च स्रोतले जनाएको छ। 

प्रहरी बृत्त कालिमाटीमा दर्ता भएको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको बयानका लागि लामिछानेलाई काठमाडौं ल्याउने तयारी थियो। उक्त सहकारी कालीमाटी–१२ मा छ। 

त्यहाँको रकम पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया प्रालिमा पुगेको र उजुरी परेका कारण बयानका लागि ल्याउन खोजिएको थियो। 

उक्त मुद्दा अहिले जिल्ला प्रहरी परिसर काठमाडौंले आफैं हेरिरहेको छ। काठमाडौं प्रहरी प्रमुख बसन्त रजौरे विदामा रहेका कारण अहिले बयानका लागि नल्याइएको बताइएको छ। 

उनलाई ल्याउने हल्ला चलेपछि रास्वपाका कार्यकर्ताले प्रदर्शनको तयारी गरेका थिए। रास्वपाले सभापति लामिछानेलाई अन्याय भएको बताइरहेको छ।

राजनीतिक प्रतिशोध लिएको र रविबाहेक अन्य सहकारी ठगी प्रकरणका अभियुक्त पक्राउ नगरेको तथा पीडितलाई न्याय नदिएको भन्ने आरोप रास्वपाले लगाएको छ। उसले त्यसलाई अन्याय भनेको हो। 

यद्यपि यस प्रकरणमा लामिछानेविरुद्धका प्रमाण बलियो बनिरहेको खबर प्राप्त भइरहेका छन्। लामिछानेविरुद्धको सबैभन्दा बलियो प्रमाण रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीमा फेला परेको बताइएको छ। 

उक्त सहकारीमा लामिछानेले हस्ताक्षर गरी रकम बुझाएको चेक तथा अन्य प्रमाण फेला परेको विषयमा रुपन्देशी प्रहरी प्रमुख रञ्जितसिंह राठौरले बताउन असम्भव रहेको क्यानडा नेपाललाई बताए। 

प्रहरी उपरिक्षक (एसपी) राठौरले भने,‘यो अनुसन्धानको क्रम जारी रहेका कारण कतिपय प्रमाण बाहिर कसरी आए त्यो हाम्रो जानकारीमा रहेन, प्रमाणका विषयमा अहिले बोल्न मिल्दैन।’

लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय कास्की पोखराको हिरासतमा छन्। उनलाई १५ दिन म्याद थपिएको थियो। 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्