Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘गेमचेन्जर’ हुन् आरजु राणा, नपत्याएर सुखै छैन!

मंगलबार, मंसिर ११, २०८१

काठमाडौं– यो सत्ता समीकरणको कसी हुन्– आरजु राणा। 

यीनको खास परिचय नेपाली कांग्रेस केन्द्रीय सदस्य दोस्रो र पहिलोचाहिँ त्यसका सभापति शेरबहादुर देउवाकी पत्नी। 

५ पटककी प्रथम महिला अर्को परिचय। 

प्रतिनिधि सभाकी दुई कार्यकालकी सदस्य हुन् उनी। 

विस्तारित परिचयचाहिँ नेपालकी परराष्ट्रमन्त्री हो। उनी अहिले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारकी खास र महत्वपूर्ण पात्र हुन्। 

प्रतिनिधि सभामा बनेका अनेक गठबन्धनीय सरकारको अन्तिम विकल्पमा बनेको कांग्रेस–एमाले समीकरणकी ‘सेतु’ हुन् आरजु राणा। 
उनको राष्ट्रिय परिचय कांग्रेसकी ‘भाउजू’ हो। 

शक्ति केन्द्रमा अटल र अदम्य रहने आरजु राणाले बजेट आउँदैन भने पनि फ्रि टिकट फ्रि भिसा भने पनि फरक पर्दैन, किनकी उनी शक्तिशाली केन्द्रकी खास हुन्। 

१३ गते उनी चीन जान्छिन्। ओलीको १७ गतेको भ्रमणको तारतम्य मिलाउँछिन्। यहाँसम्मकी ओलीले गर्नै लागेको बीआरआई सम्झौतालाई खारेज गर्न सक्ने पात्र पनि उनै हुन्। 

त्यसैले सार्वजनिक मञ्चबाट ओलीले भने– ऋणात्मक सम्झौता हुन्न। आरजु राणाले भनिन्– चीन भ्रमण सफल हुन्छ। गठबन्धनमा समस्या छैन। 

देउवाले जनकपुरमा भने,‘एमाले नेतृत्वको सरकार बलियो छ, हामी चलाउँछौं। चीनमा कुनै ऋणको सम्झौता हुनेवाला छैन।’

०७९ अघि केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नका लागि पुष्पकमल दाहाल प्रचण्ड कसैलाई खुसामत गरेर सफल भएका थिए भने त्यो पात्र पनि हुन् आरजु राणा। 

यसैकारण भारतमा उपचारका क्रममा रहँदा प्रचण्डका दुई छोरी रेणु र गंगाले आरजु बसेको होटलमा भेटेका थिए भने प्रचण्ड आफैंले भारतस्थित नेपाली दूतावासमा। 

नेपालको आन्तरिक राजनीतिमा परोक्ष सक्रियता राख्ने भारतीय संस्थापन भाजपासँग आरजुको राखी साइनो छ। भाजपाका विदेश विभाग प्रमुख बिजय चौथाइवालेसँग उनले पति देउवा प्रधानमन्त्री हुँदा बालुवाटारमा रक्षा बन्धन (राखी) बाँधेपछि यो सम्बन्ध कसिलो बनेको थियो।

अहिलेको सरकार टिकाउने प्रमुख पात्र पनि आरजु राणा नै भएको उच्च तहका स्रोतले बताउँछन्। भन्छन्,‘आरजु भाउजू पोजिटिभ रहे यो सरकार ०८४ सम्म जान्छ। उहाँ रिसाए मिति तोकिन्छ होला।’

आरजु अहिले यो सरकार ढल्न नदिनका लागि भारत र चीन दुवैसँग निरन्तर संवादमा छिन् भन्ने उदाहरण नै परराष्ट्र मन्त्रालयको जिम्मेवारी हो। उच्च स्रोतले भन्यो,‘पहिलो पल्ट कोही गृह मन्त्रालयको नेतृत्वमा महिला पुग्ने थियो। तर, कुटनीतिक सम्बन्ध बलियो राख्ने र मिलाउने चातुर्य पात्रको खोजीमा प्रधानमन्त्री ओलीको प्रस्तावमा नै राणालाई यो जिम्मेवारी दिइएको थियो।’

सत्ता समीकरणकी गेमचेन्जर राणा हुन् भन्ने धेरैलाई विश्वास नलाग्न सक्छ। तर, नपत्याएर सुखै छैन!
 

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  २१:४३
प्रतिक्रिया दिनुहोस्