'तेल भिसा रिभ्यु' : पूजा चन्दको उत्कृष्ट कमब्याक, सदाबहार विपिन र बर्षा
काठमाडौं– भनिन्छ, एउटा राम्रो निर्देशकका १० मध्य एउटा फिल्म उत्कृष्ट हुन्छ। सम्भवतः शंकर घिमिरेका निम्ति ‘तेल भिसा’ त्यहि एउटा फिल्म हुन सक्छ।
नेपाली फिल्मले लिइरहेको बजारीय गतिमा थपिएको यो फिल्मले पनि भन्छ– अब उद्योगले उडान लिन्छ।
सूर्यबहादुर अधिकारी र गौरी वा गौरव अधिकारी (विपिन कार्की) र राधा (पूजा चन्द) यस फिल्मका मुटु हुन्। अन्नपूर्ण (ऋचा घिमिरे) यसलाई जस्टिफाई गर्ने पात्र हुन् भने अभिनयको कसीमा बन्दना अधिकारी (बर्षा राउत) लाई स्यालुट गर्नुपर्छ। यी पात्रको जीवन्त अभिनयले सानो विषयको कथालाई बलियो बनाएको दर्शकले पाउनेछन्।
सन्तानलाई विदेश पठाएर गल्ती गरेको भन्ने चर्चा गरिए पनि विदेशको कानुन नजान्दा र आफ्नो संस्कृति र प्रेमको उपयोग कति बर्जित हुने रहेछन् भन्ने फिल्मको मूल मर्म हो।
यो फिल्मको ‘पिन प्वाइन्ट’चाहिँ साउँको भन्दा ब्याजको माया अर्थात् सन्तानको भन्दा नाति नातिनाको प्रेमको कसी कति महँगो पर्ने रहेछ, खुशीमा पनि भन्ने हो।
अमेरिकामा लामो समय बसेका कलाकारले त्यहाँको कानुन र नेपालीको मर्मलाई संवेदनासँग गहिरोगरी जोड्ने प्रयत्न गरेको फिल्म हो– तेल भिसा।
सामाजिक सञ्जाल प्रयोजनको कानुन आकर्षित हुने विषय पनि यसले राम्रोसँग उठाएको अनुभूती हुन्छ। रिटायर्ड जमदार होस् या गौरब विपिन कार्की सँधै अब्बल कलाकार हुन् भन्ने विषयको चर्चा अनावश्यक हुन्छ। विपिन सँधै अब्बल हुन्, उनको अभिनय बलियो छ।
नेपाली फिल्म उद्योगमा योगदान दिएर लामो समयसम्म ग्यापमा रहेकी अभिनेत्री पूजा चन्दको उत्कृष्ट कमब्याक हो। यो भूमिकामा पूजा नै फिट हुन्थिन् भन्ने कास्टिङ डाइरेक्टरको छनौट न्यायीक छ।
फिल्मको पहिलो हाफमा कथा कता मोडिएला भन्ने कौतुहलता फिल्म बुझेको दर्शकले खोजीरहन्छन्। अर्थात्, पहिलो हाफ केही स्लो भए पनि दोस्रो हाफचाहिँ उत्कृष्ट छ। फिल्मको प्राण र त्राण नै क्लाइमेक्समा छ।
प्राविधिक पक्षका केही कमजोरी अवश्य छन्। तर, दर्शक भने कथामा नै बग्ने भएकाले त्यसप्रति त्यति ध्यान हुँदैन। यो फिल्म शंकर घिमिरेको जीवनकै उत्कृष्ट निर्देशन अथवा कमब्याक निर्देशनलाई ‘बबाल’ भन्नुपर्छ। थोरै पात्र, सानो विषय अनि ठूलो म्यासेज र राम्रो अभिनय फिल्मको मुटु हो। बुद्धि तामाङ (कान्छा)सहितको सपोर्टिभ अभिनय पनि गज्जब छ।
नेपाली फिल्मका लागि पैसा खर्च गर्दा अबचाहिँ खेर जाँदैन भन्ने उदाहरण बनेको ‘तेल भिसा’ पारिवारिक नाटक अर्थात् फ्यामिली ड्रामा जनराको हो, हेर्दा उचित हुन्छ।