Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनपीएलका लागि जनकपुर बोल्ट्सले भित्राएका इङ्लिस क्रिकेटर बेन माइक कस्ता खेलाडी हुन्?

बुधबार, मंसिर १२, २०८१

काठमाडौं– घरेलु प्रतिस्पर्धाका निम्ति ८ फ्रेन्चाइज तयार पारी नेपाल क्रिकेट संघ (क्यान)ले शनिबारदेखि त्रिवि मैदानमा सुरु गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)मा विदेशी खेलाडी आउने क्रम जारी छ। 

विभिन्न टीमले क्रिकेटमा विश्वकप नै जितेका देशसहितका खेलाडी भित्राउने क्रम पनि रोकिएको छैन। यसै क्रममा बलियो मानिएको आसिफ शेख मार्की रहेको तथा पुवुदु दसानायके प्रमुख प्रशिक्षक रहेको जनकपुर बोल्ट्सले इङ्लिस खेलाडी बेन माइक भित्राएको छ।

बेन्जामिन वेंटवर्थ मुनरो माइक पूरा नाम रहेका उनले इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट नखेले पनि घरेलु लिगमा चमत्कारिक अलराउन्डर प्रदर्शन दिएका छन्। इङ्लिस टोलीका उनी भावी राष्ट्रिय टीममा पर्ने खेलाडीका रुपमा विश्वका मिडियाले चर्चा गरेका छन्। 

राइट–ह्यान्डेड ब्याट्सम्यान र राइट–आर्म मिडियम बलर रहेका बेन माइकको सीपलाई नजरअन्दाज गर्न नसकिने क्रिकेटका ज्ञाता बताउँछन्। 

माइकले आफ्नो पहिलो श्रेणीको डेब्यु २०१८ मा घरेलु टीम लेस्टरशायरबाट गरेका थिए। त्यसैवर्ष लिस्ट ए क्रिकेटमा पनि डेब्यु गरे। उनी २०१९ मा वारविकशायरको लागि लोनमा खेल्न पुगे।  पछिल्लो समय उनी योर्कशायरबाट खेलेका छन्, तर अहिले फेरी लिस्ट ए क्रिकेटमा लेस्टरशायरमा फर्केको बताइन्छ।

पहिलो श्रेणीको क्रिकेटमा माइकले ४७ खेलहरूमा १ हजार ६३९ रन बनाएका थिए भने र १०६ विकेट लिएका थिए। ब्याटिङ औसत २५.२१ र बलिङ औसत ३७.९७ रहेका उनै माइक जनकपुर बोल्ट्सका एक आकर्षण पनि हुन्। 

लिस्ट ए क्रिकेटका १९ खेलहरूमा २३ विकेट लिएका उनको बलिङ औसत ३५.०४ रहेको छ। टी–२० क्रिकेटका ६७ खेलहरूमा ५७ विकेट लिएका छन्, जहाँ उनको बलिङ औसत २७.२२ रहेको इतिहास छ। 

इङ्ल्यान्डको घरेलु क्रिकेटमा एक होनहार अलराउन्डरको रूपमा हेरिएका उनले जनकपुर बोल्टस्का लागि एनपीएलमा जादु देखाउने अपेक्षा गरिएको छ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्