एनपीएल जिते ३० लाख पुरस्कार दिने मुख्यमन्त्री कार्कीको घोषणा
काठमाडौँ- कोशी प्रदेश सरकारले विराटनगर किङ्सले एनपीएलको उपाधि जितेमा ३० लाख रुपैयाँ दिने घोषणा गरेको छ । विराटनगर किङ्सका खेलाडीलाई मंगलबार राति बिदाइ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजेता बनेमा ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को लागि कोशी प्रदेशबाट विराटनगर किङ्सले सहभागिता जनाउँदै छ ।बिदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताउँदै क्रिकेटबाट राष्ट्रिय मात्र हैन, अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिने बताए ।
उनले भने, ‘खेलकुद क्षेत्रमा प्रदेश सरकारको स्रोतसाधनले भ्याएसम्म सहयोग गर्न सरकार तयार रहेको छ । आगामी दिनमा खेलकुदको विकासका लागि थप योजनाहरू अघि सारिनेछ ।’
विराटनगर किङ्सका मुख्य प्रशिक्षक केभिन ओ ब्रायनले नेपाल प्रिमियर लिगमा आक्रामक खेलको प्रस्तुति दिने बताए ।
प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ ।