नेभिगेशन
खेलकुद

पिछडिएको नाम, डरलाग्दो कामः एनपीएलको कर्णाली याक्समा छन् बाबरदेखि गब्बरसम्मका यस्ता स्टार खेलाडी

काठमाडौं– गिहेन्द्र घिमिरे र सुजन खनालको हिम्मत र लगानीलाई नजरअन्दाज गरियो भने घरेलु क्रिकेटको नेपाल प्रिमियर लिग (एनपीएल)को चर्चा र रौनक हुने थिएन। 

उनीहरुले खरिद गरेको फ्रेन्चाइज टीम कर्णाली याक्स अन्य ७ टीमका लागि भारी र डरलाग्दो बन्नेवाला छ। यस टीममा विदेशी खेलाडी बाबरदेखि गब्बरसम्मको सहभागीता बलियो छ। त्यहाँमाथि सोमपाल कामी मार्की रहेको टीममा उदयीमान गुलशन झा जस्ता ब्याट्सम्यानलाई समेत भित्राउने आँट सानो मुटु भएको लगानीकर्ताले गर्दैन।

नेपालमा कर्णाली सबैभन्दा पिछडिएको प्रदेशको नाम हो। तर, यहि नामले एनपीएलमा धमाका मच्चाउन सक्ने जोखाना हेर्ने कम छैनन्। एनपीएलको ठूलो चर्चाको कारण पनि कर्णाली याक्स बनेको थियो। किनकी यसमा भारतीय राष्ट्रिय टोलीको ठूलो नाम ओपनर शिखर धवन पनि आवद्ध छन्। धवनको निक नेम गब्बर हो।

अनुभवी खेलाडीहरू, उदीयमान स्थानीय प्रतिभा र अन्तर्राष्ट्रिय स्टारहरूको सन्तुलित मिश्रणको साथ टोलीले कडा प्रतिस्पर्धा गर्न तयार छ। यहाँ टोली, कोचिङ स्टाफ, र मालिकहरूलाई गहिरो गरी हेरिएको छ। 

प्रमुख प्रशिक्षक नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्लको अनुभवसँगै अति नै प्रतिभाशाली खेलाडीले खेल देखाउनेछन्।

मार्की सोमपाल कामी राइट ह्यान्डेड ब्याट्सम्यानसँगै फास्ट मेडियम बलर हुन्।

मौसम ढकाल राइट आर्म अफब्रेक बलर हुन् भने दीपक डुम्रे विकेट किपरसँगै राइट ह्यान्डेड ब्याट्सम्यान हुन्।

यो टोलीमा रहेका रीत गौतम राइट ह्यान्डेड टप अर्डरका ब्याट्सम्यान रहेका छन् भने अर्जुन घर्ती विकेट किपरका रुपमा छन्। 

राष्ट्रिय टोलीका लेफ्ट ह्यान्डेड कान्छा प्रतिभाशाली गुल्शन झा अल राउन्डर हुन्। देव खनाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिश सिंह, नन्दन यादव पनि यो टोलीमा छन्।

५ जना ट्यालेन्ट हन्ट पनि छन्। विपिनप्रसाद शर्मा, मनिष थापा, निश्चल रावल, राजप्रसाद शाह र अरविन्द घर्ती खोजिएका उदयीमान क्रिकेटर छन्।

यसको डरलाग्दो र आकर्षक पक्ष भनेकोचाहिँ ओभरसिजबाट आएका खेलाडी हुन्। माथि उल्लेख भएका गब्बर यानकी शिखर धवन तिव्र गतिका लेफ्ट ह्यान्डेड ब्याट्सम्यान हुन्। जसले भारतीय राष्ट्रिय टोलीलाई विभिन्न विधाका खेल जिताउनका लागि ओपनरका रुपमा उत्कृष्ट प्रतिभा देखाएका थिए।

गब्बरसँगै छन् बाबर हायात जो राइट ह्यान्डेड ब्याट्सम्यान हुन्। पाकिस्तानी हुसैन तलात जस्ता लेफ्ट ह्यान्डेड ब्याट्सम्यान तथा राइट आर्म मेडियम फास्ट बलरको कौशलतामा कर्णाली त्रिवि मैदानमा उत्रिनेछ।

वेस्ट इन्डिजका चाड्वीक वाल्टन जस्ता विकेट किपरसहित राइट ह्यान्डेड ब्याट्सम्यान, स्लो अर्थोडक्स लेफ्ट आर्म बलर रहेका जीशान मक्सुद ओभरसिजबाट आएका आकर्षणले कर्णाली याक्सको चर्चा छ।

यो टीमले कर्णालीलाई हेर्ने दृष्टिदोष नै परिवर्तन गर्न सक्नेगरी एनपीएलमा प्रदर्शन गर्न सक्ने आँकलन क्रिकेटका पण्डितहरू गर्छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद