‘सिङ्गल थिएटर’बाट हराएका हिरोइनहरू ‘मल्टिप्लेक्स’मार्फत फर्किए
काठमाडौं– फिल्मी नगरीबाट विस्तारै पलायन भएका कतिपय अभिनेत्री (हिरोइन)हरू मल्टिप्लेक्स र टेली सिरियलमार्फत पर्दामा पर्नोदय गरिरहेका छन्।
कुनै समय फिल्ममा धेरै देखिने अभिनेत्रीहरू पूजा चन्द, विपना थापा, रेजिना उप्रेतीलगायतले एक दशकपछि यस वर्ष अभिनयमार्फत दर्शकसँग साक्षात्कार गरे।
फिल्मको प्रस्तुतीकरण र कथ्य शैलीमा आएको परिवर्तनसँगै उनीहरू पर्दाबाट हराए तापनि फिल्ममा पुनरागमन गर्न सफल भए।
एक दशकअगाडि ‘वरदान’ नामक फिल्ममा देखिएकी अभिनेत्री रेजिना उप्रेतीले गत साउनमा प्रदर्शन भएको ‘मोदीबेनी’ फिल्ममा अभिनय गरिन्।
विशेषतः डिजिटल प्रविधिमा फिल्म बन्ने क्रम बढेपछि उनी फिल्मबाट टाढा भएकी थिइन्। उनको आगमनसँगै सुरु भएको पुराना अभिनेत्रीहरूको फिल्ममा पुनरागमनले निरन्तरता पाईरहेको छ।
गत कात्तिक ३० गतेदेखि प्रदर्शन भएको फिल्म ‘ह्रस्व दीर्घ’ मार्फत अभिनेत्री विपना थापा मल्टिप्लेक्सका ठूलो पर्दामा फर्किइन्। उनले केही समय अगाडिको योजना भए तापनि अवस्था अनुकूल भएपछि फिल्ममा काम गर्ने हौसला प्राप्त भएको बताइन्।
‘पारिवारिक कारणले गर्दा लामो समय यस क्षेत्रबाट टाढा भएँ। अहिले काममा फर्किएकी छु। यसपटक काम गर्दा पहिलो फिल्म झैँ अनुभव गरेँ। छायाङ्कन अनुभवलाई शब्दमा व्यक्त गर्न सक्दिन’, सरकारी समाचार संस्था राष्ट्रिय समाचार समितिलाई थापाले भनेकी छन्,‘कुनै समय हामी अभिनेत्रीको भूमिकामा देखिएका थियौँ, अहिले सहायक भूमिकामा देखिने गरेका छौँ। पात्र जस्तो भए पनि त्यसको प्रभाव समग्र कथामा देखिनुपर्छ। अब मैले अभिनयलाई निरन्तरता दिने सोचअनुसार काम गरिरहेकी छु।’
गत मङ्सिर ७ गतदेखि प्रदर्शनमा रहेको फिल्म ‘तेल भिसा’मार्फत अभिनयमा पुनरागमन गरेकी अभिनेत्री पूजा चन्दले राम्रो चर्चा बटुलिरहेकी छिन्।
अभिनेता विपिन कार्कीको श्रीमतीको भूमिकालाई उनले न्याय गरेको प्रतिक्रिया दर्शक र फिल्मकर्मीले दिएका छन्। यसले गर्दा आगामी फिल्ममा पनि उनको भूमिका देख्न सकिने अनुमान लगाइएको छ।
यही फिल्ममार्फत अभिनेत्री ऋचा घिमिरे पनि अभिनयसँगै निर्माणमा फर्किएकी छिन्।
‘विविध कारण फिल्मकर्मकै कारण विदेश गइयो। त्यहाँको जीवनशैली र रहनसहनले गर्दा फर्किन समय लागेको हो। तर पुनः फिल्म कर्ममै फर्किएकी छु । यसलाई अब निरन्तरता दिनेछु’, अभिनेत्री घिमिरेले भनिन्।
अभिनेत्री घिमिरे झैँ पछिल्लो समय अमेरिकामा बसोबास गरिरहेकी अभिनेत्री अरुणिमा लम्साल ‘घरः बट इन अमेरिका’ नामक वेब शृङ्खलामार्फत अभिनयमा ‘कमब्याक’ गर्दै छिन्।
कुनै बेला यी अभिनेत्री सिङ्गल थिएटरका शानका रुपमा फिल्म उद्योगमा जमेका थिए।