लुम्बिनी लायन्सको प्रशिक्षणमा छन् भारतलाई यू–१९ विश्वकप जिताउने उन्मुक्त चन्द, एनपीएल रोचक बन्दैछ
काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल) थप रोचक बनाउन सक्ने पात्र हुन् फ्रेन्चाइज टोली लुम्बिनी लायन्समा आवद्ध उन्मुक्त चन्द।
यो नाम पनि असामान्य नै हो। किनभने भारतलाई यू–१९ विश्वकप जिताउनका लागि अस्ट्रेलियाविरुद्ध चन्दको खेल प्रभावशाली रहेको थियो। त्यो खेलको स्मरण गर्दा एनपीएल अझ घोचक अनि रोचक समेत हुने बताउँछन् क्रिकेटका जानकारहरू।
उन्मुक्तले सन् २०१२ मा भारतलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए र उक्त प्रतियोगितामा कप्तानको जिम्मेवारी पनि सम्हालेका थिए। उनले शतकीय पारी खेलेको अझै पनि चर्चा हुने गर्छ।
उन्मुक्त चन्दको जन्म २३ मार्च १९९३ मा दिल्लीमा भएको हो। उनी दायाँ हाते ब्याट्सम्यान हुन् र आफ्नो करिअरको सुरुवात भारतको घरेलु क्रिकेटबाट गरे। उनले दिल्लीको तर्फबाट रणजी ट्रफी खेलेका छन् र इंडियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्स र मुंबई इन्डियन्स जस्ता टीमहरूको प्रतिनिधित्व गरेका थिए।
भारतको वरिष्ठ टोलीमा मौका नपाएपछि उन्मुक्तले क्रिकेटको नयाँ अवसरको खोजी गर्दै अमेरिकालाई रोजेका थिए। उनले मेजर लिग क्रिकेटमा पनि खेलिसकेका छन्।
उनले यूएसए क्रिकेट मा पनि खेल्दै अमेरिकामा क्रिकेटको विकासमा योगदान गरेका छन्। उन्मुक्त चन्दको नेपाली क्रिकेटमा प्रवेशले लुम्बिनी लायन्सको प्रदर्शनमा सकारात्मक प्रभाव पारेको छ र यसले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
उन्मुक्तले आफ्नो विद्यालय शिक्षा दिल्ली पब्लिक स्कूलबाट पूरा गरे। उनका पिता एक शिक्षक हुन् र आमा गृहिणी। क्रिकेटप्रति उनको लगाव बाल्यकालदेखि नै देखिएको थियो, जसका लागि उनले परिवारबाट ठूलो समर्थन पाए।
उन्मुक्तले २०१० मा दिल्लीको तर्फबाट घरेलु क्रिकेट खेल्न सुरु गरे।
फर्स्ट क्लास डेब्युमा २०१०–११ सिजनमा उनले दिल्लीको तर्फबाट रणजी ट्रफी खेल्दै डेब्यु गरे।
२०१२ मा विश्वकप जिताउँदा उन्मुक्तले फाइनलमा १११ रन बनाएका थिएर्।
उन्मुक्तको प्रतिभा भए पनि उनलाई भारतीय राष्ट्रिय टोलीमा लगातार मौका नदिएपछि २०२१ मा भारतबाट अमेरिका स्थानान्तरण भएका थिए। अमेरिकामा बसाइँ सरेपछि पनि उनीले निरन्तर रूपमा आफ्नो प्रदर्शन सुधार गर्नमा ध्यान दिएका छन्।
लुम्बिनी लायन्सको लागि उनले अनुभवी ब्याट्सम्यानको भूमिका निर्वाह गर्दैछन्, जसले टिमलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
उन्मुक्त चन्दको अन्तर्राष्ट्रिय अनुभवले नेपाली क्रिकेटरहरूलाई प्रेरित गर्ने विश्वास गरिएको छ।
उन्मुक्त चन्दले सिमरन खोसला नामकी फिटनेस प्रशिक्षकसँग विवाह गरेका छन्।
क्रिकेट बाहेक उनी एक लेखक पनि हुन्। उनले आफ्नो आत्मकथा ‘दी स्काई इज लिमिट’ प्रकाशित गरेका छन्, जसमा उनले आफ्नो संघर्ष र उपलब्धिहरूको यात्रा प्रस्तुत गरेका विवरणहरू छन्।
उन्मुक्तसँगै अन्य विदेशी खेलाडी र भारतीय कोचले लुम्बिनीलाई प्रशिक्षित गरिरहेका छन्।
राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल मार्की रहेको फ्रेन्चाइज टोलीमा सूर्य तामाङ, बिकास अग्री, दिनेश अधिकारी, अभिषेक गौतम, आशुतोष घिराइया, सन्दीप जोरा, दुर्गेश गुप्ता, तिलक भन्डारी, अर्जुन साउद, विवेक यादवसहितका खेलाडीले उन्मुक्तसँग मैदान शेयर गर्नेछन्।
यस टीमले आरिफ खान, करण केवत, दुर्गेश थापा, एमडी हुसैन, रमेश कुर्मीलाई ट्यालेन्ट हन्टका रुपमा छानेको छ।
ओभरसिजका हकमा चर्चा गरिएका उन्मुक्तसहित अस्ट्रेलियाका बेन कटिङ, इङ्ल्यान्डका टोम मुरेस, रेमोन सिमोन, साद बिन जफरले लुम्बिनी लायन्समा खेल्दैछन्। यसलाई भारतीय कोच नन्दन फड्निसले प्रशिक्षण गर्दैछन्। यो ईश्वर जीसी मालिक भएको फ्रेन्चाइज टोली हो।