बाहिर ओलीविरुद्ध हुंकार रातभर छिर्छन् बालुवाटारः रास्वपा प्रमुख सचेतक परियारले यो के गरे?
काठमाडौं– बाहिर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हुंकार छाड्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू रातभरी बालुवाटार छिर्ने गरेको पत्ता लागेको छ।
यहि क्रममा रास्वपा प्रमुख सचेतक सन्तोष परियारले मंगलबार राती बालुवाटारमा प्रधानमन्त्री ओलीसँग खुसुक्क भेट गरेको स्रोतले जनाएको छ।
यसअघि पनि उनी उपसभापति डीपी अर्यालसहित बालुवाटार पुगेको विषयमा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले सार्वजनिक जानकारी गराएका थिए।
प्रधानमन्त्री ओलीले नै सार्वजनिक कार्यक्रममा रास्वपामाथि आफूलाई भेट्नका लागि खुसामत गरिरहेको बताइसकेका थिए भने त्यस दलका नेताले ५ दिनसम्म पनि समय नपाएको भनी दोस्रो चरणको ८ बुँदे आन्दोलन सार्वजनिक गरेका थिए।
मंगलबार परियारले सभापति रवि लामिछानेलाई हिरासतबाहिर राखेरै पनि अनुसन्धान गर्न सकिने भएका कारण त्यसको मेसो मिलाइदिनका लागि आग्रह गरेको बताइन्छ।
स्रोतले भन्यो,‘अन्यलाई भेट दिनुभएको थिएन। उहाँ (सन्तोष परियार)सँग एमालेको पनि लिगेसी पुरानो भएका कारण भेट भएको हो।’
सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणमा लामिछानेमाथि अनुसन्धान जारी छ। कास्की जिल्ला प्रहरी कार्यालयमा राखेर उनीमाथि अनुसन्धान गरिएको छ।
पछिल्लो समय लामिछाने र उनकी पत्नी निकिताको नाममा भएको ५० करोड बराबरको रकमको विषयमा प्रहरीले खोजीनीति गरेको विवरण चर्चामा आएका छन्।
पक्राउ गरी पहिलो पटक म्याद थप गर्न लैजाने बेला सभापति लामिछानेले ओली सरकार ढाल्नका लागि आह्वान गरेका थिए।