माओवादी पदाधिकारी बैठकद्वारा कार्यदलले पेस गरेका प्रतिवेदन अनुमोदन
काठमाडौँ- नेकपा माओवादी केन्द्रले दुईवटा कार्यदलले पेस गरेको प्रतिवेदन अनुमोदन गरेको छ । बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले सुझाव प्रतिवेदन अनुमोदन गरेको हो ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा मंसिर ४ गते बसेको पदाधिकारी बैठकले विधानलाई लिपिबद्ध गर्न र पालिका सम्मेलनको कार्यविधि बनाउन छुट्टाछुट्टै कार्यदल गठन गरेको थियो । जसमा महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा रहेका थिए । यता पालिका सम्मेलन गर्दा आउने प्रतिनिधिहरू पार्टी सदस्यको आधारमा कसरी आउने र निर्वाचन प्रक्रिया कस्तो बनाउने भन्ने विषयमा कार्यविधि बनाउन अर्को समिति बनेको थियो ।
यो कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन र सचिव हितराज पाण्डे रहेका थिए । बुधबारको बैठकले यी दुवै कार्यदलबाट आएका सुझाव अनुमोदन गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।