स्थानीय तहलाई बीमाबारे बुझाउँदै प्राधिकरण
बागलुङ- ग्रामीण तहका नागरिकमासमेत बीमाको पहुँच बढाउन र बिमा शिक्षा दिन नेपाल बीमा प्राधिकरणले स्थानीय तहलाई यसबारे जानकारी गराउन थालेको छ ।
बीमा गर्दा क्षतिको परिपूर्ति गर्न सहज हुने भन्दै प्राधिकरणले स्थानीय तह केन्द्रित भएर यसबारे सचेतना जगाउने काम गरिरहेको छ ।
प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले हालसम्म प्रदेशका ५२ स्थानीय तहका जनप्रतिनिधिलाई बीमासम्बन्धी अभिमुखीकरण गरिसकेको जनाएको छ ।
कार्यालय प्रमुख केशवप्रसाद दाहालले बीमाको महत्व बुझाउने, बीमाका नाममा हुने ठगी रोक्ने तथा बीमा गर्दा भविष्यमा हुने क्षति कम गर्न स्थानीय तहका जनप्रतिनिधि र पत्रकारलाई अभिमुखीकरण गर्न थालेको बताए ।
जीवन बीमा, निर्जीवन बीमाका विषयमा स्थानीय तहसमेत जानकार हुन आवश्यक रहेको भन्दै प्रदेशका ८५ स्थानीय तहमध्ये ५२ पालिकामा बीमा अभिमुखिकरण कार्यक्रम गरिएको दाहालले जानकारी दिए ।
दाहालले यससम्बन्धी सही जानकारी सम्प्रेषण गर्न स्थानीय पत्रकारलाई पनि यसबारेमा अभिमुखीकरण गर्न आवश्यक ठानी सो कार्य पनि भइरहेको बताए ।
प्राधिकरणका सहायक निर्देशक सुदिप गिरीले बीमाको आवश्यकता र चुनौतीबारे आमजनतामा जानकारी गराउँदै यसको महत्व, पहुँच बढाउन, आर्थिक क्षति न्यूनीकरणको पूर्वतयारी, लघु बिमा र कृषि बिमालगायत विषयमा सबैले जानकारी लिन आवश्यक रहेको बताए ।
नेपालमा हाल १४ वटा जीवन, १४ निर्जीवन, ७ वटा लघु र दुईवटा पुर्नबिमा कम्पनीले काम गरिरहेको पनि गिरीले जानकारी दिए ।