Nic Ad Nic Ad
Nic Ad Nic Ad
एनपीएल

एनपीएलका कान्छाहरू कुन–कुन फ्रेन्चाइजमा छन्? जसले क्रिकेटमा भविष्य कोरिरहेका छन्

बिहीबार, मंसिर १३, २०८१

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कान्छा अलराउन्डर हुन् गुल्शन झा। गुल्शनले १५ वर्षको उमेरमा संयुक्त राज्य अमेरिकाविरुद्ध एक दिवसीय (ओडीआई) क्रिकेटमा डेब्यू गर्दा तेस्रो कान्छो खेलाडीका रुपमा चर्चा पाएका थिए। ५३ बर्षको ओडीआई इतिहासलाई प्रयोग गर्ने झा कान्छा खेलाडी मध्यका एक हुन्। 

उनले एउटै खेलमा छ विकेट लिएका थिए भने अर्धशतक बनाउने पहिलो खेलाडी बने। ओडीआईमा यो उपलब्धि हासिल गर्ने झा पहिलो नेपाली खेलाडी हुन्। 

नेपाली क्रिकेटको घरेलु महोत्सवका रुपमा शनिबारदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल)मा झालाई कर्णाली याक्सले खरिद गरेको छ।

उनी विस्फोटक ब्याट्सम्यान तथा भारतीय ओपनर रहीसकेका शिखर धवनलगायतसँग पिच शेयर गर्न आतुर छन्।

‘यो मेरा लागि निक्कै महत्वको विषय हो। अनुभव र पिच शेयर गर्न पाउनु सामान्य कुरा होइन’, गुल्शनले भनेका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टीमका उदाउँदा युवा क्रिकेटर झा १८ बर्षका भए। २० बर्षमुनीका उनी एक विस्फोटक खेलाडीमा दरिएका छन्।

विशेष गरी तीव्र गतिका बलर तथा आक्रामक ब्याटरको रूपमा परिचित छन्। उनले सन् २०२२ मा फिलिपिन्सविरुद्ध टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। त्यसयता उनले १४ टी–२० खेलमा २३४ रन बनाएका छन् र १२ विकेट लिएका छन्।

गुल्शनले २०२३ मा जिम्बावेमा भएको विश्वकप छनोट प्रतियोगितामा आयरल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका थिए। त्यसैगरी, वेस्ट इन्डिजविरुद्ध पनि ४२ रनको महत्वपूर्ण पारी खेलेका थिए। उनी नेपालले पहिलो पटक खेलेको एसिया कपको टीममा पनि समावेश थिए।

पछिल्लो समय उनले टी–२० विश्वकप एसिया छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै ‘उत्कृष्ट युवा खेलाडी’को उपाधि हात पारेका उनले एसीया कपमा सर्वाधिक ५४ रनको योगदान दिएका थिए, जसका लागि उनलाई पुरस्कारस्वरूप पल्सर मोटरसाइकल पनि प्रदान गरिएको थियो।

यसरी छोटो समयमै उत्कृष्ट प्रदर्शन गर्दै नेपाली क्रिकेटमा महत्वपूर्ण स्थान बनाएका गुल्शन झा आगामी दिनमा नेपाली क्रिकेटका लागि आशाको किरण बनेका छन्। 

एनपीएलका अर्का कान्छा खेलाडी हुन्, आशुतोष घिरैया। उनी २४ बर्षका भए।

नेपाली क्रिकेटका उदाउँदा प्रतिभाशाली खेलाडी उनी मुख्यतः मध्यक्रमका ब्याट्सम्यान तथा अफ स्पिनर हुन्। हालै सम्पन्न प्रधानमन्त्री कप (पीएम कप) मा उनले कोशी प्रदेशविरुद्ध शतक प्रहार गर्दै आफ्नो उत्कृष्ट प्रदर्शन गरेका थिए। यसले उनको घरेलु क्रिकेटमा ठूलो चर्चा ल्याएको छ। 

उनको यो सफलताले उनलाई विभिन्न फ्रेन्चाइज लिगमा आकर्षक खेलाडी बनाएको छ। 

आशुतोषलाई आगामी दिनमा नेपाल क्रिकेटको महत्वपूर्ण खेलाडीका रूपमा हेरिएको छ। विशेषगरी नेपालले आफ्नो युवा खेलाडीहरूमार्फत बलियो क्रिकेट संरचना निर्माण गरिरहेको परिप्रेक्षमा उनको खेल कौशल र शारीरिक फिटनेसले उनी नेपाली राष्ट्रिय टोलीमा समावेश हुनसक्ने सम्भावना पनि बढाएको छ।

यस्तै २० नकटेका अर्का खेलाडी हुन् दीपेश कँडेल। 

कँडेल नेपाली यू–१९ क्रिकेट टोलीका उदयीमान खेलाडी हुन्। जसले हालै आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत नेपाललाई ८ वर्षपछि यू–१९ विश्वकपमा छनोट गराएका थिए। 

विशेष रूपमा, उनले बहराइनविरुद्धको खेलमा ह्याट्रिक लिँदै नेपालको जितमा महत्वपूर्ण योगदान गरे। उनले लगातार तीन बलमा तीन विकेट लिँदै खेलको नतिजा नेपालतर्फ मोडेका थिए, जसले गर्दा नेपाली टोलीले २०२४ यू–१९ विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको थियो। 

दीपेशले बाल्यकालदेखि नै क्रिकेटप्रति गहिरो लगाव राखेका थिए। उनलाई क्रिकेटप्रतिको प्रेम यति धेरै थियो कि जब उनलाई पहिलोपटक क्रिकेट ब्याट किनेर दिइयो, उनले त्यो ब्याटलाई सिरानी बनाएर सुत्थे। 

खेलकुद क्षेत्रमा संघर्ष र अवसरको कमीका कारण उनले धेरै चुनौती सामना गरे, तर आफ्नो मेहनत र परिवारको सहयोगका कारण उनी निरन्तर क्रिकेटमा लागिरहे। 

दीपेशले सुर्खेतमा आफ्नो बाल्यकाल बिताए तर क्रिकेट करिअरलाई अघि बढाउन विराटनगरमा एक्लै बस्दै आएका छन्। 

उनले नेपालका विभिन्न प्रतियोगिताहरूमा आफ्नो क्षमताको प्रदर्शन गर्दै आएका छन् र उनलाई भविष्यमा नेपाली क्रिकेटको महत्वपूर्ण सदस्यका रूपमा हेरिएको छ। 

उनको मेहनत र दृढताले भविष्यमा नेपाली क्रिकेटमा थप सफलता ल्याउने अपेक्षा गरिएको छ। उनी एनपीएलमा काठमान्डु गुर्खाज फ्रेन्चाइजमा आवद्ध छन्।

यी तीनै जनाको प्रस्तुतीलाई अपेक्षाका साथ हेरिएको छ। भोलीको राष्ट्रिय टोली र नेपाली क्रिकेटको भविष्यलाई डोहोराउनका लागि तीनै जनाको भूमिका महत्वमा रहनेछ।

नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ खेलाडीको खोजी र नेपाली क्रिकेटको स्तरलाई बलियो बनाउनका लागि एनपीएलको आयोजना गरेको हो। जसमा विदेशी खेलाडी र अनुभवप्राप्त प्रशिक्षकको प्रशिक्षणले क्रिकेटको उन्नयन र खेलाडीको क्षमतालाई निखारिने आशा राखिएको छ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्