Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनपीएलमा एउटा फ्रेन्चाइजले मैदानमा कति विदेशी खेलाडी उतार्न पाउँछ?

बिहीबार, मंसिर १३, २०८१

काठमाडौं– शनिबार हुने उद्घाटन खेलसँगै पुस ६ गतेसम्म त्रिवि मैदानमा हुने क्रिकेटको घरेलु महोत्सव नेपाल प्रिमियर लिग (एनपीएल) खेल्नका लागि ८ फ्रेन्चाइजमा समेटिएका विदेशी खेलाडी आउने क्रम जारी छन्।

क्रिकेटको रफ्तार दिलाउने भारतदेखि नामिवियासम्मका खेलाडी विभिन्न ८ फ्रेन्चाइजमा अनुबन्धन भएका छन्। 

बिराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, काठमान्डु गुर्खाज, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स मैदानमा उत्रिँदैछन्। 

एनपीएलका फ्रेन्चाइज टोलीलाई नेपाल क्रिकेट संघ क्यानले एक टोलीले ६ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न दिएको छ। तर मैदानमा भने चार विदेशी खेलाडी मात्र उतार्न पाइने प्रावधान राखेको छ।

त्यसैले पनि नाम चलेका विदेशी खेलाडी अनुबन्ध गर्न ८ टोलीको होडबाजी नै चलेको थियो।

परिणामतः एसोसियट क्रिकेटका बादशाहदेखि विश्वक्रिकेटमा चर्चा पाएका खेलाडीसम्मलाई यो पटक घरेलु मैदानमा नै नेपाली समर्थकले देख्न पाउने भएका छन्। 

एनपीएलमा भारतका चर्चित खेलाडी शिखर धवनदेखि न्युजिल्यान्डका मार्टिन गुप्टिल, नामिबियाका जान निकोल लफ्टी इटोन, स्कटल्यान्डका माइकल लिस्कलगायतका चर्चित अनुहार सहभागी हुँदै छन्।

त्रिकेटको महोत्सव सुरु हुनै लाग्दा कतिपय प्रकारका म्याच फिक्सिङ, बेटिङलगायतका विवाद पनि आउँछन्। यसअघि पनि क्यानले गरेको नेपाल टी–२० लिगमा त्यस्तो विवाद आएको थियो। 

क्यान आफैँले आयोजना गरेको नेपाल टी–२० लिग स्पट फिक्सिङदेखि खेलाडी र पुरस्कार रकम समेत नदिएपछि विवाद भएको थियो। तर क्यानका पदाधिकारी भन्छन्,‘यस पटक व्यावसायीक रुपमा नै पूर्णतयारीका साथ काम भएकाले समस्या आउनेछैन।’

पछि क्यान नेतृत्वले पत्रकार सम्मेलन गर्दै नेपाल टी–२० लिगको जिम्मा भारतीय कम्पनीलाई दिनु आफूहरुको गल्ती भएको स्वीकार समेत गरेको थियो। अघिल्लोपटक नेपाल टी–२० लिगमा भएका कमजोरीबाट पाठ सिक्दै क्यानले यो पटक एनपीएललाई सफल बनाउन लागिपरेको छ।

एनपीएलका लागि विभिन्न स्वदेशी कम्पनीले फ्रेन्चाइजलाई प्रायोजन गरेका छन्। सिद्धार्थ बैंक मुख्य प्रायोजकका रुपमा रहेको छ भने एनसेललगायतका कम्पनीले पनि प्रायोजन गरेका छन्।
 

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १३:०८
प्रतिक्रिया दिनुहोस्