Nic Ad Nic Ad
Nic Ad Nic Ad

एम्बुलेन्समा लागूपदार्थ कारोबारको धन्दा

बिहीबार, मंसिर १३, २०८१

महोत्तरी-  बिरामी बोक्ने एम्बुलेन्स बाट लागुपदार्थ कारोबारको कालो धन्दा भएको पाइएको छ । महोत्तरीको बर्दिबासमा प्रहरीले एम्बुलेन्स बाट १० ग्राम ब्राउनसुगर बरामद गरेको हो । 

बुधबार राति बर्दिबास चोक बाट सिन्धुली तर्फ गइरहेको बा प्र ०१–००२ झ ६६९० नम्बरको एम्बुलेन्स बाट सो परिमाणको ब्राउनसुगर बरामद भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रेवतिरमण पोखरेलले जानकारी दिए । 

सिन्धुलीको मरिन गाउँपालिकाको कपिलाकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स बाट ब्राउनसुगर बरामद भएको हो । एम्बुलेन्सको जाँज गरिँदा साइरनमा रहेको माइक्रोफोन भित्र लुकाइएको अवस्थामा ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । 

ब्राउनसुगर बरामद भएको एम्बुलेन्स, चालक र एम्बुलेन्समा सवार अन्य एक सहितलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए । 

एम्बुलेन्स बाट गैरकानूनी सामान लगिँदैछ भन्ने सूचनाका आधारमा रोकेर जाँच गरिएको प्रहरीले जनाएको छ । यो कारोबारमा अन्य पनि संलग्न भएका हुनसक्ने प्रहरीको अनुमान छ । 

अहिले नियन्त्रणमा लिइएका दुई जनाको परिचय प्रहरीले खुलाएको छैन । सो एम्बुलेन्स उपचार कार्यको मानवीय सेवामा सहयोग पुर्‍याउन गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटलाई प्रदान गरेको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्