एनपीएल खेल्न नेपाल उत्रिएका सुदूरपश्चिम रोयल्सका कुगेलेइन र जेबको सीप कस्तो छ?
काठमाडौं– शनिबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग खेल्नका लागि फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सका दुई विदेशी खेलाडी बिहीबार काठमाडौं उत्रिसकेका छन्। अब उनीहरू प्रशिक्षणमा ब्यस्त हुनेछन्।
न्यूजिल्यान्डका स्कट कुगेलेइन र इङ्ल्यान्डका सैफ अली जेब काठमाडौं आइपुगेका हुन्। यी दुई खेलाडीको सीपलाई सुदूरपश्चिम रोयल्सले राम्रोसँग उपयोग गर्ने लक्ष्य राखेको छ।
स्कट कुगेलेइन न्यूजिल्यान्डका एक अन्तर्राष्ट्रिय क्रिकेटर हुन। तेज गतिको बलिङ र विस्फोटक ब्याटिङ क्षमताका लागि परिचित छन्। उनको जन्म ३ जनवरी १९९२ मा ह्यामिल्टन, न्यूजिल्यान्डमा भएको हो। कुगेलेइन एक दायाँ हातले ब्याटिङ गर्ने अलराउन्डर र दायाँ हातले तीव्र–मध्यम बलिङ गर्ने खेलाडी हुन्।
कुगेलेइनले आफ्नो टेस्ट डेब्यू १६ फेब्रुअरी २०२३ मा इंग्ल्यान्डविरुद्ध बे ओभलमा गरेका थिए। उनले पहिलो पटक १४ मे २०१७ मा आयरल्याण्डविरुद्ध एक दिवसीय (ओडीआई) खेलेका थिए।
उनले ११ जनवरी २०१९ मा श्रीलङ्काविरुद्ध आफ्नो टी–२०मा डेब्यू गरेका थिए। इन्डियन प्रिमियर लिग आइपीएलमा कुगेलेइनले चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोरको लागि पनि खेलेका छन्।
टेस्टका ३ खेलमा ६ विकेट लिएका छन्, जहाँ उनको उत्कृष्ट बलिङ प्रदर्शन २.७५ रहेको छ।
टी–२०को १८ खेलमा उनले १६ विकेट लिएका छन्। आईपीएलमा २ खेलमा २ विकेट लिएका छन्, जहाँ उत्कृष्ट बलिङ २.३७ रहेको थियो।
कुगेलेइन २०१६–०१७ मा यौन हिंसाको आरोपमा दुई पटक अदालती प्रक्रियामा गए। अदालतले उनलाई दोषी ठहराएन, तर यस घटनाले उनको करिअरमा केही विवाद निम्त्यायो। न्यूजिल्यान्ड क्रिकेटले यस मामिलामा अदालतको निर्णयलाई सम्मान गर्दै उनलाई खेल्न अनुमति दिएको थियो।
कुगेलेइन आफ्नो बलिङको गतिलाई १४० किलोमिटर घन्टा भन्दा माथि पुराउन सक्षम छन् र तल्लो क्रममा तीव्र रन बनाउन पनि माहिर छन्।
यस्तै सुदूरपश्चिमकै लागि खेल्न आएका सैफ अली जÞैब प्रतिभाशाली अलराउन्डर इङ्लिस क्रिकेटर हुन्। उनको जन्म २२ मे १९९८ मा हाई विकम, बकिंघमशायर, इंग्ल्यान्डमा भएको हो। उनी मुख्य रूपमा बायाँ हातले ब्याट गर्ने र स्लो लेफ्ट–आर्म ओर्थोडक्स बलिङ गर्ने खेलाडी हुन्।
सैफले १५ वर्षको उमेरमा नर्थाम्प्टनशायरबाट आफ्नो करिअर सुरु गरे। उनले पहिलो पटक २०१४ मा न्युजिल्यान्डविरुद्ध लिस्ट ए क्रिकेटमा डेब्यु गरे। उनी आफ्नो टिमको मध्यक्रममा ब्याटिङ गर्दै राम्रो प्रदर्शन गर्छन् र कहिलेकाहीं स्पिन बलिङ पनि गर्छन्।
टी–२० ब्लास्टर हुन् उनी। ४० खेलमा ९१५ रन बनाइसकेका छन्, जसमा ७ अर्धशतकहरू समावेश छन्। उनको व्यक्तिगत उच्च स्कोर ९२ रन हो। उनलाई टिमका लागि महत्त्वपूर्ण बलिङ विकल्पको रूपमा चिनाएको छ। सैफको खेल्ने शैली र निरन्तरता उनलाई इंग्ल्यान्डको घरेलु क्रिकेटमा भविष्यका आशालाग्दा अलराउन्डरहरूको सूचीमा राख्छ।
एनपीएलका लागि उनीहरू महत्वपूर्ण खेलाडी हुनेछन्। नेपाली दर्शक उनीहरूको खेल र नेपाली खेलाडी प्रतिस्पर्धाका निम्ति तयारी अवस्थामा छन्।
त्रिवि मैदानमा हुने खेलको व्यग्र प्रतिक्षा रहेको उनीहरुको प्रारम्भिक प्रतिक्रिया थियो।