उच्चपदस्थको बिदाइमा अब एयरपोर्टमा १४ जना मात्रै जान पाउने
काठमाडौँ- सरकारले भीभीआईपीको वैदेशिक भ्रमणमा जाँदा बढीमा १४ जना मात्रै बिदाइमा जान पाउने व्यवस्था गरेको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यवाहक प्रधानमन्त्रीसहित १४ जना मात्रै अन्तराष्ट्रिय विमानस्थलमा बिदाइमा जान पाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।ती मन्त्रीका अनुसार देश बाहिर भिभिआइपी जाँदा एयरपोर्टमा लावा लस्कर जाने गरेको भन्दै अब १४ जनामात्रै जान पाउने गरी कार्यविधि संशोधन गरिएको छ ।
जसमा कार्यवाहक प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरू, परराष्ट्र मन्त्री, गृहमन्त्री, सञ्चार मन्त्री र पर्यटन मन्त्रीबाहेक अरु मन्त्री पनि बिदाइमा सहभागी हुन नपाउने भएका छन् ।
यस्तै प्रधान सेनापति, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्यसचिव, सम्बन्धित देशका राजदूत र परराष्ट्र मन्त्रालयले तोकेको व्यक्ति मात्रै जान पाउने भएको हो ।