रविलाई बयानका लागि आज सरकारी वकिलको कार्यालय लगिने
काठमाडौं -बयानका लागि काठमाडौंं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको आजदेखि बयान सुरू हुने भएको छ। सरकारी वकिलको कार्यालयमा उनको बयान गरिन लागेको हो।
रविलाई काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ। कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको अपचलनमा लामिछाने मुछिएपछि बयानका लागि उनलाई हिजो पोखराबाट काठमाडौं ल्याइएको हो।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिकमा पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासतमा रहँदै आएका थिए। उनीमाथि अदालतले पटक–पटक म्याद थपेर अनुसन्धान गर्न अनुमति दिँदै आएको छ। काठमाडौंको बयान सकेर लामिछानेलाई पुन पोखरा नै लगिने प्रहरीले जनाएको छ।
लामिछानेमाथि रुपन्देही र चितवनमा पनि मुद्दा परेको छ । रुपन्देहीमा उनको बयान सकिएको छ भने चितवनमा बाँकी छ । लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ।