काठमाडौंमा छन् ‘डाक्टर महसुर गुलाटी’, नयाँ बानेश्वरमा कलाकार सुनिल ग्रोबरको प्रस्तुती आज
काठमाडौं– बलिउडका हास्य कलाकार, चरित्र अभिनेता सुनिल ग्रोबरले शुक्रबार काठमाडौंको एभरेष्ट होटल प्राङ्गणमा प्रहसन गर्दैछन्। त्यसका लागि उनी बिहीबार काठमाडौं आइपुगेका छन्।
नयाँ बानेश्वरको एभरेस्ट होटलको मैदानमा ‘सुनिल ग्रोवर लाइभ इन नेपाल’ आयोजना हुँदैछ।
लिक्विड इन्टिलिजेन्सले ग्रोवरलाई नेपाल ल्याएको हो। आयोजकतर्फका विभूषण गौतमले लोकप्रिय नेपाली ब्यान्ड कुटुम्बसँगै ग्रोवरले प्रस्तुति दिन लागेको जानकारी दिए।
आफ्ना कमेडी क्यारेक्टरमार्फत चर्चित ग्रोवरले अहिले नेटफ्लिक्समा स्ट्रिमिङ भइरहेको ‘द ग्रेट इन्डियन कपिल शो’मा प्रस्तुति दिइरहेका छन्। उनी डाक्टर महसुर गुलाटीका नाममा चर्चित छन्। गब्बर इज ब्याकमा अक्षय कुमारसँग अभिनय गरेका उनले विभिन्न फिल्ममा चरित्र अभिनेताको भूमिका निभाएका छन्।
उनी क्यारिकेचरका निम्ति पनि उत्तिकै चर्चित छन्। हालै मात्र उनले क्यारिकेचर गरेको सलमान खानको भूमिकालाई रुचाइएको थियो।
उनले त्यसमा रिंकु भाबीको भूमिका पनि निभाएका थिए। सुनिलको यो दोस्रो काठमाडौं आगमन हो। यसअघि २०७४ सालमा नेपाल आउँदा उनले पशुपतिनाथ मन्दिरको समेत दर्शन गरेका थिए।